काठमाडौं । सतहमा देखिएका सबै प्रकारका हौवालाई चिर्दै सेयर बजार स्थिर हुने र वृद्धिको बाटोमा अघि बढ्ने संकेत देखिएको छ । तर, मंगलबारको कारोबारले मात्रै यही परिस्थिति एकीन गर्न सकिन्न । यद्यपि, बजार २६०० नजिक पुगेर फर्किएकाले अब तल नझर्ने आंकलन गर्न सकिन्छ । यसअघि २८७० को बिन्दू पार गर्दा २६०० हाराहारीमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झर्ने अनुमान गरिएको थियो ।
नभन्दै सोमबार ११४ अंकले घटेर २६९८ मा रोकिएको बजार सूचक मंगलबार आधा घण्टा नहुँदै ८३ अंकले झरेर २६१५ मा पुग्यो । तर, लगत्तै बढेको बजार १ घण्टा नपुग्दै २७६६ अंकमा उक्लियो । उच्च र न्यून अंकबीच १५१ अंकको फरक देखियो । त्यसपछि बजार घट्ने र बढ्ने क्रमलाई निरन्तर पच्छयाइरहेकामा अन्तिममा १३.८३ अंकले बढेर २७१२.०७ अंकमा रोकिएको छ । सोमबार बजार घट्दा २७०० बिन्दूमा नरोकिकन २८१२ बाट सिधै २६९८ मा रोकिएको थियो ।
मंगलबारको कारोबार प्रवृत्ति, उच्च विन्दूबाट १८ प्रतिशतभन्दा बढीको गिरावट पछि बजार स्थिर रहँदै उचालिने संकेत गरेको हो । यदि बजार २६०० भन्दा पनि तल झरेको खण्डमा भने वियरिस ट्रेन्ड समाउने सम्भावना रहन्छ ।
२ महिनाभित्र २० प्रतिशतले सूचकमा गिरावट आए त्यस्तो बजार वियरिस ट्रेन्डमा गएको मानिन्छ । तर, अहिले १८ प्रतिशतभन्दा बढीको गिरावटबाटै उक्लिन खोजेकाले बजार बुलिस ट्रेन्डमै रहेको अनुमान गर्न सकिन्छ ।
खासगरी, सेयर धितो कर्जामा कडाइ, ब्याजदर वृद्धिको हल्ला, अर्थमन्त्री जनार्दन शर्मामा अभिव्यक्ति, सीमित लगानीकर्ताहरुले बजार घटाउन चालेका कदमहरुलाई चिर्दै सेयर बजार सकारात्मक हुने वाटोमा अग्रसर भएको हो कि भन्ने देखिएको छ ।
तर, बुधबार र बिहीबारको कारोबार प्रवृत्ति नहेरी यसै भन्न सकिन्न । परिस्थिति जेसुकै भए पनि राम्रा कम्पनीको सेयर मूल्य वर्षकै न्यून मूल्य तिर रहेकाले खरिदकर्ताका लागि उपयुक्त अवसर हो ।
अर्कोतिर सूचीकृत कम्पनीहरुले लाभांश घोषणालाई प्राथमिकता दिइरहेको छन् । अहिलेको मूल्यमा लाभांश खाएर फेरि त्यही मूल्यमा सेयर बिक्री गर्दै मूल्य अभिवृद्धिको फाइदा खाने पनि अवसर रहेकाले लगानीकर्ताहरुलाई घाटा भने हुने छैन । कम्पनीको आधारभूत पक्षलाई नहेरी उच्च मूल्यमा सेयर खरिद गरेका लगानीकर्तालाई भने अझै गाह्रो पर्न सक्छ ।
गत बिहीबार र सोमबार सूचक घट्दा कारोबार रकम बढेको थियो । त्यसले बजार सूचक अझै झर्न बल पुर्याएको थियो । तर, मंगलबार सूचक बढ्दा पनि कारोबार रकम घटेको छ । यसले बजार स्थिर हुने बाटोमा रहेको देखाउँछ । मंगलबार ७ अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । । सोमबार ८ अर्ब ४९ करोड रुपैयाँ थियो भने बिहीबार ९ अर्ब ३ करोड थियो ।
सोमबार मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्दा त्यसपछिको उच्च मूल्य वृद्धि भएको रुरु हाइड्रको ५.७८ प्रतिशतले बढेको छ भने समग्रतामा १३० कम्पनीको सेयर मूल्यमा वृद्धि छ । उता ७२ कम्पनीको मूल्य घट्दा सबैभन्दा बढी सानिमा लार्ज क्याप फन्डको ३.५० प्रतिशतभन्दा कमले घटेको छ । बढी कारोबार हुने कम्पनीको सूचीमा भने अरुण भ्याली हाइड्रोपावर छ । उसको २५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
याे पनि पढ्नुस् ।
२८०० मा रोकिएको सेयर बजारले आगामी साता देला सकारात्मक सन्देश !