×

बिमा र अनुदानले चौंरीपालक किसान उत्साहित

images

चौतारा । सिन्धुपाल्चोकका चाैंरीपालक किसान बिमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौंरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो माध्यम बनेको छ । 

परम्परागत रूपमा पालिने चौंरीलाई व्यावसायिक रूप दिएपछि स्थानीयवासीले चौंरी लोप हुन नदिन अभियान नै सञ्चालन गरेका छन् । लिस्तीमाथि छगाम बगामको चौंरीखर्कमा ६० चौंरी थपिएका छन् । एसियन नेपाल र सेन्डाकले संयुक्त रूपमा चौंरीपालक किसानलाई  ५३ लाख रूपैयाँ अनुदान दिएको छ । ६० चौंरीका लागि ३३ लाख रूपैयाँ र खानेपानीसहित अन्य व्यवस्थापनका लागि  २० लाख रूपैयाँ अनुदान उपलब्ध भएको हो । 

स्थानीय निमा शेर्पाका अनुसार चौंरीबाट उत्पादित दूधजन्य सामग्रीको बजारीकरणका लागि लेकाली खर्कमै संकलन केन्द्र स्थापना गरिएको छ । किसानको उत्साहलाई ध्यानमा राख्दै गाउँपालिकाले प्रत्येक किसानको गोठमा रहेका चौंरीको बीमा र औषधोपचारको जिम्मा लिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । 

चौंरीखर्कको व्यवस्थापन र उत्पादित सामग्रीको बजारीकरणका लागि स्थापना गरिएको चौंरी संरक्षण समितिले कुल आम्दानीको ६० प्रतिशत किसानलाई र ४० प्रतिशत कोषमा राखेर पुनः किसानकै लागि सेयरमा परिणत गर्ने योजना बनाएको छ ।  

परम्परागतरूपमा चौंरीपालन गर्दै आएका जुगल गाउँपालिकाका किसान बीमाको कार्यक्रम लागू भएपछि खुसी भएका छन् । महँगो मूल्य पर्ने चौंरी मर्दा पूरै नोक्सानी व्यहोर्दै आएका किसानले अहिले बीमावापतको रकम पाउने भएका छन् । 

जुगल गाउँपालिकाले किसानलाई सहुलियतमा चौंरीको बीमा गरिदिएपछि चौंरीपालक किसानको सङ्ख्यासमेत बढ्न थालेको शेर्पाले बताए। चौंरीको दूधबाट नौनी, घ्यू र छुर्पी उत्पादन हुन्छ । एउटै गोठमा ५० भन्दा बढी चौंरी पाल्ने किसानको उत्पादन खरिद गर्न व्यापारी खर्कमै पुग्ने गरेका छन् ।

बुधबार ५ असोज २०७९ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया