माेरङ । नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि बिक्री वितरण गर्दै आएका ५२ व्यावसायिक फर्म कारबाहीमा परेका छन् ।
वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७/७८ मा २०२ व्यावसायिक फर्ममा अनुगमन गरिएकामा सो सङ्ख्याका फर्ममा कारवाही गरिएको जानकारी दिइयो ।
तीमध्ये विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि, कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगङ्गास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस रु दुई लाख वा सोभन्दा बढी जरिवानामा परेका थिए ।
ती फर्मबाट १९ लाख ५ हजार रूपैयाँ जरिवाना असुल गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए। कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २२ फर्ममाथि कारबाही गरी ९ लाख २५ हजार रूपैयाँ जरिवाना गरेको थियो ।
यसैबीच गत आर्थिक वर्षमा १ हजार ८ सय ३९ नयाँ फर्म दर्ता भएकामा ३ हजार ३ सय ६ फर्मको नवीकरण/संशोधन र २ सय फर्म खारेजीमा परेको कार्यालयले जनाएको छ ।
यस प्रदेशको १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो । रासस