काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा १ हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७७/७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन भएका १ हजार ३५ व्यापारिक फर्म/कम्पनी तथा उद्योग कारबाहीमा परेका हुन् ।
एक वर्षको अवधिमा विभागले २ हजार ९ सय ४७ फर्मको अनुगमन गरेको थियो । तीमध्ये ६६ फर्म सामान्य अवस्थामा रहेका, १ हजार ५ सय ९७ फर्मलाई सामान्य सुधार, ३ सय ९७ फर्मलाई आवश्यक कागजात तथा स्पष्टीकरण सोधिएको थियो ।
विभागको तथ्याङ्कअनुुसार ३७ फर्मबाट परीक्षणका लागि वस्तुको नमुना सङ्कलन, ३८ फर्मको कारोबार रोक्का, १९ जनालाई अभियोग लगाइएको र तीनवटा साधन नियन्त्रणमा लिइएको थियो ।
कारबाहीमा परेका उद्योगलाई लगाइएको जरिवानावापत २ करोड ३९ लाख ८२ हजार बराबर राजस्व संंकलन भएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार १ वर्षको अवधिमा ३ करोड ७३ लाख ८४ हजार ४ सय १ बराबरको अखाद्य वस्तु नष्ट गरिएको छ ।
पाँच कार्यालयबाट १ हजार ३ सय ४७ फर्मलाई कारबाही
विभागअन्तर्गत रहेका पाँच कार्यालय (विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढी)ले गत आवमा १ हजार ३ सय ४७ व्यापारिक फर्मलाई कारबाही गरेका छन् । ती फर्मलाई कारबाही स्वरुप जरिवाना गर्दा १ वर्षको अवधिमा ३ करोड ३३ लाख ७० हजार राजस्व संकलन भएको छ ।
४ हजार ७ सय ७९ व्यापारिक फर्मको अनुगमन गरिएकामा ५१ फर्मको कारोबार रोक्का गरिएको थियो । साथै ३ करोड ९८ लाख ५३ हजार २ सय ५९ रुपैयाँ बराबरको म्याद सकिएको वस्तु नष्ट गरिएको थियो ।
त्यस्तै ४ हजार ४१ अन्य फर्मलाई समेत कारबाही गरिएको विभागले जनाएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने फर्मलाई कारबाही स्वरुप आर्थिक जरिवाना गर्दै आएको छ । रासस