काठमाडौं । माग कम हुन थालेपछि अक्सिजन कन्सन्ट्रेटरको मूल्य घटेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणदर उच्च भएसँगै कन्सन्ट्रेटरको अत्याधिक माग भई मूल्य पनि आकासिएको थियो । अहिले कोभिड संक्रमणदर घट्दै गएको र अक्सिजनको माग कम हुँदै गएसँगै कन्सन्ट्रेटरको माग र मूल्य दुवै घटेको बिक्रेताहरूको भनाइ छ ।
प्रतिअक्सिजन कन्सन्ट्रेटर ९० हजारदेखि १ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेकोमा अहिले घटेर ५० हजार रुपैयाँसम्ममा आइपुगेको बिक्रेताहरूको भनाइ छ । संक्रमण दर घटेको र बजारमा अक्सिजन कन्सन्ट्रेटर धेरै व्यवसायीहरूले ल्याएको कारणले मूल्य घटेको बिक्रेता प्रकाश प्रधानले जानकारी दिए ।
बजारमा तीव्र प्रतिस्पर्धा गरेर छिमेकी मुलुक चीनबाट अक्सिजन कन्सन्ट्रेटर ल्याए पनि अहिले बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘पहिला मागअनुसार पुर्याउननै समस्या हुन्थ्यो, अहिले दिनमा एउटा पनि बिक्री भएको छैन’, बिक्रेता प्रधानले क्यापिटलसँग भने ।
कोभिड संक्रमित बढेर अस्पतालमा अक्सिजनको अभाव हुन सक्ने आशंका गर्दै सर्वसाधारणले घरमा अक्सिजन मेसिन जोहो गर्न थालेपछि बजारमा कृतिम अभाव भएको थियो ।
सामान्य अवस्थामा महिनाको ५–६ वटा बिक्री हुने पसलबाट कोभिडका बीचमा दैनिक २–३ वटा अक्सिजन कन्सन्ट्रेटर गएको थियो । अहिले अत्यन्तै न्यून मात्रामा बिक्री हुन थालेको छ ।
त्रिपुरेश्वरमा रहेको साहिल सर्जिकल प्रालिले सातामा १२ थान अक्सिजन कन्सन्ट्रेटर बिक्री गरेकोमा अहिले दिनमा २ वटा पनि गर्न नसकिएको बताएको छ ।
कोभिडका लागि भन्दा दमका बिरामीहरूले अक्सिजन कन्सन्ट्रेटर लैजान थालेको बिक्रेताहरूको भनाइ छ ।यसअघि पनि अक्सिजन कन्सन्ट्रेटर दमका रोगीहरूलाई स्वास प्रस्वासमा सहज होस् भनेर लैजाने गरेका थिए ।
छिमेकी मुलुक भारतमा अक्सिजन अभावको कारण धेरैले ज्यान गुमाएको समाचारहरू सार्वजनिक भएसँगै नेपालमा पनि संक्रमण दर उच्च नहुँदै बजारमा अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटरको हाहाकार भएको थियो ।
जसका कारण व्यवसायीहरूले रातारात करोडौं रुपैयाँ लगानी गरेर चीनबाट अक्सिजन कन्सन्ट्रेटर ल्याएका थिए । संक्रमणदर घटेको र अक्सिजन पनि पर्याप्त मात्रामा पाउन थालेपछि अक्सिजन कन्सन्ट्रेटरको माग कम हुँदै गएको छ ।
नेपालमा पनि अक्सिजन अभावको कारण कोभिड संक्रमितहरूको मृत्यु भएसँगै छिमेकी मुलुक चीनले १ सय ७३ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको थियो । त्योसँगै अन्य मुलुकहरूले पनि सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेपछि निजी क्षेत्रले बिक्रीका लागि ल्याएको कन्सन्ट्रेटरको माग ह्वात्तै घटेको व्यवसायीहरूको भनाइ छ ।