बिहीबार, मंसिर १६ २०७८ ०८:४२ PM

×

पहिराेले घर पुरिँदा धनकुटामा ६ जनाको मृत्यु, ६ घाइते

images

धाकुटा । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मंगलबार राति पहिराेले घर पुर्दा ६ जनाको मृत्यु भएको छ ।
 
 राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराेले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको र अरू ६ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताए।
 
घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका ९ वर्षीय नाति विनोद, ५ वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिए।
 
गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उनले बताए। घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन् । घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ ।

बुधबार ३ कात्तिक २०७८ १०:२७ AM मा प्रकाशित

प्रतिक्रिया