विराटनगर । विराटनगरको वडा नम्बर २ दुर्गा चोक नजिकै रहेको अग्रवाल किराना पसलमा चिनीको मूल्य किलोको ९० रुपैया छ । आफुले ८५ रुपैयामा ल्याउने गरेको र ५ रुपैया नाफा लिएर बेच्ने गरेको पसलकी सञ्चालक सीता अग्रवालले बताईन ।
‘हामीलाई होलसेलमा नै महंगो पर्छ’, उनले भनिन्, ‘५ रुपैया नाफा लिएर बेचेको हो, कहिले त होलसेलमा नै ८८ रुपैयामा पर्छ, अनि त्यही अनुसार हामीले बेच्ने हो ।’ ‘हामीलाई नै महंगो परेपछि ग्राहकलाई सस्तोमा दिन सक्दैनौ’, उनले भनिन् ।
चोककै अर्को पसलमा भने चिनीको मूल्य ८० रुपैया छ । सावित्रा मगरले सञ्चालन गरेको किराना पसलमा ८० रुपैयामा चिनी बिक्री भईरहेको छ । आफुले ल्याएको मूल्य भन्दा ५ रुपैया नाफा लिएर बेच्ने गरेको उनको भनाई छ । आफुले प्रतिकिलो ७५ रुपैयामा ल्याउने गरेको र ८० रुपैयामा बेच्ने गरेको मगरले बताईन ।
गुद्रीका होलसेल पसलमा पनि चिनीको मूल्य फरक फरक छ । विराटनगरमा नै कतै ७५ रुपैया प्रतिकिलो छ भने कतै ८० र कतै ८८ पनि छ । त्यसैगरी विराटनगरको रानीमा रहेका किराना पसलमा पनि चिनीको मूल्य फरक फरक छ । रानीमा सञ्चालनमा रहेको गुरुङ किराना पसलमा चिनीको मूल्य ७० रुपैया छ । कुनै पसलमा ६५ रुपैया प्रतिकिलो छ भने कुनै पसलमा ७५ रुपैया छ ।
विराटनगरको रानी क्षेत्रमा बढी चोरी पैठारीको चिनी भित्रिने गरेको छ । जोगवनीमा अन्य खाद्यान्न सामानसहित चिनी किन्दा ६० रुपैया प्रतिकिलो पाउँछ भने चिनी मात्र किन्दा ६५ रुपैया प्रतिकिलो पाउँछ । कतिपयले खाद्यान्नको सामान सहित चिनी पनि ल्याएर पसलमा बेच्ने गरेका गरेका छन् ।
कपडा लिन जाँदा होस्, खाद्यान्न सामाग्री लिन जाँदा रानी क्षेत्रका किराना पसलवालाले चिनी ल्याउने गरेको स्थानीय राम यादवले बताए । एक जनाले ५ केजी चिनी ल्याउँदा भन्सार तिर्नु पर्दैन ।
केही कपडा, खाद्यान्नको सामाग्रीसँगै ५ केजी ल्याउँदा भन्सार तिर्नु नपर्ने भएपछि विराटनगर क्षेत्रका धेरै जसो मानिसहरु जोगवनी सामान किन्न जाने गरेको उनले बताए । जोगवनी छेउका व्यापारीले त दिनको २०÷३० केजीसम्म चिनी ल्याउने गरेको यादवले बताए ।
भन्सार नतिरि चोरी पैठारी गरेर ल्याएको चिनी सस्तो हुने गरेको छ । भन्सार तिरेर ल्याएको चिनी महंगो हुने गरेको छ । विराटनगर भन्सार कार्यालयबाट चिनी आयत कम हुन्छ । यो बर्ष विराटनगर भन्सारबाट चिनी आयात भएको छैन ।
गत आर्थिक बर्षमा विराटनगरमा ६६ लाख ३० हजार किलो चिनी आयात भएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए । ३३ करोड १८ लाख १४ हजार ९४२ रुपैया बराबरको चिनी आयात भएको यादवले बताए ।
विराटनगरको बजारमा चोरी पैठारीको चिनी धेरै हुने भएकाले व्यवसायीले चिनी आयात गर्न छाडेका छन् । तस्करीको चिनी सस्तो पर्ने र भन्सार तिरेर ल्याउँदा महंगो पर्ने भएकाले चिनी आयात गर्न नसकिएको बताएका छन् ।
अघिल्लो वर्ष स्वदेशमा नै उत्पादित चिनीले धानेको थियो । तर गत वर्ष चिनी कम उत्पादन भएका कारण यो वर्ष बेलैमा चिनीको अभाव देखिएको हो । विराटनगरको साल्ट ट्रेडिङसँग पनि चिनी सकिएको छ ।
नेपालीहरुको महान् पर्व दसैं नजिकिसँगै जोगवनी जानेहरुको भिड बढेको छ । विराटनगरमा चिनीको मूल्य फरक फरक परेपछि चिनी लिन मानिसहरु जोगवनी जाने गरेका छन् । चिनीदेखि कपडा र खाद्यान्नका सामानहरु पनि विराटनगर बजारमा भन्दा जोगवनीमा सस्तो पर्ने धरान देखि जोगवनी सामान किन्न आएकी समिक्षा राईले बताईन ।