बुधबार, साउन १३ २०७८ १०:१४ AM

×

काठेखोला गाउँपालिकाले सबै घरधुरीको बनायो ‘डिजिटल प्रोफाइल’

images

बलेवा । काठेखोला गाउँपालिकाले सबै घरधुरीको विवरण प्रबिष्ट गरी ‘डिजिटल प्रोफाइल’ तयार पारेको छ । गाउँ विकासका लागि योजना निर्माण र विद्युतीय माध्यमबाट जानकारी लिन चाहनेका लागि  प्रोफाइलले सहयोग गर्ने जनाइएको छ ।

गाउँपालिकाले तयार गरेको ‘डिजिटल प्रोफाइल’ सार्वजनिक गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए । “अब हरेक घटना र विवरणहरु क्षणभरमै संसारको जुनसुकै कुनामा बसेर हेर्न र बुझ्न सकिने छ”, उहाँले भन्नुभयो, “प्रोफाइल अपडेट गर्न कर्मचारीलाई तयार गरिने छ ।”

गाउँपालिकाको भौगोलिक अवस्थादेखि कलासंस्कृति र जनसङ्ख्यासम्मका विवरण प्रोफाइलमा भेटिने उनले दाबी गरे । व्यक्तिगत घटना दर्ता, राजस्वको भुक्तानी, योजनाको सम्झौता तथा फरफारक लगायतका काम डिजिटल माध्यमबाट सुरुआत गरिसकेको गाउँपालिकाले स्मार्ट गाउँपालिका बनाउनकै लागि प्रोफाइल तयार गरेको जनाएको छ ।

“हरेक घरको तस्बिर हुन्छ, घरमा रहेका सदस्य सङ्ख्या र उनीहरुको सबै विवरण त्यहाँ राखिएको छ”, अध्यक्ष थापाले भने, “थपघट हुँदा जोड्ने र घटाउने काम सार्वजनिक भएपछि सुरु हुन्छ ।” यसका  लागि गाउँपालिकाले गत आवमा रु २५ लाख बजेट विनियोजन गरेको थियो ।

प्रविधिको विकाससँगै विवरणलाई पनि आधुनिक तरिकाबाट सुरक्षण गरिएको उहाँले बताउनुभयो । आठ वडा रहेको गाउँपालिकाले सबै वडाका हरेक घरमा पुगेर विवरण संकलन गरेको थियो । रासस

मङ्गलबार ५ साउन २०७८ ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया