बिहीबार, मंसिर १६ २०७८ ०९:१४ PM

×

ब्याजदर बढाउने बैंकमाथि राष्ट्र बैंकको हस्तक्षेप, बढाएको ब्याजदर फिर्ता लिनुपर्ने 

images

काठमाडौं । निक्षेप तान्न बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर मनपरी बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ ।

बैंकहरुले निक्षेप तान्नका लागि कात्तिक १ गतेदेखि मुद्धति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशत पुर्याएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेर फिर्ता लिन बैंकहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले मंगलबार राति बैंक तथा वित्तीय संस्थाहरुलाई तीन बुँदे निर्देशन जारी गरी ब्याजदर वृद्धिमा अंकुश लगाएको छ । निक्षेप उठाउन बैंकहरुले अब ब्याजदर बढाउन पाउने छैनन् ।

निर्देशनअनुसार बैंकहरुले कात्तिक १ गतेदेखि बढाएको मुद्धतिको ब्याजदर फिर्ता लिनुपर्ने भएको छ । बुधबार नयाँ ब्याजदर सार्वजनिक गर्न केन्द्रीय बैंकले भनेको छ । यद्यपी यसबीचमा बैंकहरुले उठाएको निक्षेपको ब्याजदरमा केन्द्रीय बैंक मौन छ । 

बैंक तथा वित्तीय संस्थाहरुले जुनसुकै मुद्धतिमा निर्धारण गर्ने ब्याजदर अघिल्लो महिना प्रकाशित ब्याजदर बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने भएका छन् ।

अब संस्थागत मुद्धति निक्षेपको ब्याजदर सर्वसाधारणको मुद्धति निक्षेप भन्दा १ प्रतिशत विन्दुले कम हुनुपर्ने छ । कात्तिक १ गते प्रकाशित ब्याजदरमा संशोधन गरी सार्वजनिक गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । 

कात्तिक १ गतेदेखि एनआईसी एसिया बैंक, हिमालयन बैंक र लक्ष्मी बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएर ११ प्रतिशतसम्म पुर्याएका थिए । ब्याज बढ्दा सेयर बजारमा लगातार ओरालो लाग्न थालेको छ ।

ब्याजदर बढेपछि कर्जा महंगो हुने चिन्ता सवत्र्र व्यक्त गर्न थालिएको बेला केन्द्रीय बैंकले हस्तक्षेप गरेर नियन्त्रण गरेको हो । बैंकहरु व्यवसाय विस्तारमा आक्राम हुँदा ब्याजदर बढ्न थालेको हो । पछिल्लो समय बैंकहरुले निक्षेप परिचालन भन्दा बढी ऋण लगानी बढाएका छन् ।

असोजमा बैंकहरुले कुल ९७ अर्ब ८४ करोड रुपैयाँ निक्षेप बढाएका छन् भने  १ खर्ब २६ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


 

मङ्गलबार २ कात्तिक २०७८ १०:२३ PM मा प्रकाशित

प्रतिक्रिया