पथप्रदर्शक श्रमिकहरुले राखे ३९ प्रतिशत ज्याला वृद्धिको माग

एयरलाइन्स मजदुर युनियन (युनिट्राभ), अखिल नेपाल पर्यटन मजदुर सङ्घ र नेपाल पर्यटन श्रमिक सङ्घले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा सामूहिक माग पत्र पेस गर्दै श्रमिकहरुले हालको महँगीलाई ध्यानमा राखी तलब वृद्धि गर्नुपर्ने बताएका हुन् ।

पथप्रदर्शक श्रमिकहरुले ३९ प्रतिशत ज्याला वृद्धिको माग गरेका छन् । एयरलाइन्स मजदुर युनियन (युनिट्राभ), अखिल नेपाल पर्यटन मजदुर सङ्घ र नेपाल पर्यटन श्रमिक सङ्घले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा सामूहिक माग पत्र पेस गर्दै श्रमिकहरुले हालको महँगीलाई ध्यानमा राखी तलब वृद्धि गर्नुपर्ने बताएका हुन् ।

उनीहरुले पर्यटन क्षेत्रका क्रियाशील मजदुर सङ्गठन, श्रम तथा रोजगार मन्त्रालयमा श्रम मन्त्रालयका सहसचिवसहित ४ ओटा ट्रेड युनियन र टानबीच भएको सहमतिअनुसार श्रमिकको कल्याणकारी कोष स्थापना गरी विगतदेखि हालसम्मको मजदुर कल्याणकारी कोषमा तोकिएअनुसारको १० प्रतिशत रकम जम्मा गर्नुपर्ने, चाडपर्व खर्च अनिवार्य दिनुपर्ने, पर्वतारोहणमा जाने श्रमिकहरुलाई दिँइदै आएको ज्याला वृद्धि गरी अन्य सेवा सुविधामा ४० प्रतिशत वृद्धि गर्नुपर्ने माग राखेका छन् ।

यस्तै दुर्घटना तथा स्वास्थ्य बिमाअन्तर्गत श्रमिकको निधन भएमा मृतकको काजक्रिया तथा दाहसंस्कार खर्चवापत दुई लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने, भ्रमण वर्ष २०२० लाई सफल बनाउन श्रमिकलाई जनचेतना अभिवृद्धिका लागि सबै पदमार्गमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्नुपर्ने र जनचेतनामूलक होर्डिङ बोर्ड तथा ब्यानर राख्नुपर्ने माग राखेका छन् । उनीहरुले विगतमा भएको सम्झौता र मागहरुको १५ दिनभित्र सम्बोधन नगरिए त्यसको जिम्मेवारी टान स्वयम् हुने जनाएको छ ।

यसैबीच टानका अध्यक्ष नवराज दाहालले श्रमिकहरुले उठाएका मागलाई सम्बोधनका लागि सम्बन्धित निकायहरुसँग गम्भीर छलफल अघि बढाइरहेको बताए । श्रमिकका माग सम्बोधनका लागि सरकार र निजी क्षेत्र दुवै गम्भीर हुन आवश्यक देखिएको उनको भनाइ छ ।

Tour Vacation Guide Illustration