बिहीबार, मंसिर १६ २०७८ १०:२७ PM

×

सरकारले माथिल्लो काबेली र मध्य होङगुखोला आयोजना बनाउन लाइसेन्स दिँदै, जडित क्षमता ५१ मेगावाट 

images

 काठमाडौं । सरकारले निजी क्षेत्रबाट निर्माण हुन लागेको दुई जलविद्युत आयोजनाका लगानीकर्तालाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ ।

विद्युत विकास  विभागले २८.१ मेगावाटको माथिल्लो कावेली र २२.९ मेगावाटको मध्य होङगुखोला बी आयोजना बनाउनका लागि अनुमति दिने प्रक्रिया अघि बढाएको हो । दुई आयोजनाको जडित क्षमता ५१ मेगावाट छ ।

काबेली आयोजना बनाउन पिस इनर्जी कम्पनी र होङगु बी आयोजना बनाउन गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले दरखास्त दिएपपछि विद्युत विकास विभागले प्रक्रिया अघि बढाएको हो । 

कावेली आयोजना ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा पर्छ । यो आयोजना नदीको बहामा आधारित (रन अफ दि रिभर) हो । आयोजनाबाट वार्षिक १६ करोड ६५ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाको बाँध सिदिङवा गाउँपालिकाको बायाँ र सिरीजंघको दायाँ पर्छ । आयोजनाबाट उत्पादन हुने बिजुली २५ किलोमिटर टाढा नेपाल विद्युत प्राधिकरणले बनाएको ढुङेसाँघु सवस्टेशनमा जोडिने कम्पनीले जनाएको छ । आयोजनाबाट २०८२ साउन १ गते बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । 

यस्तै सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेको मध्य होङगुखोला बी आयोजनाबाट वार्षिक १३ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाबाट २०८० भदौ १ गते बिजुली उत्पादनको प्रस्ताव गरिएको विभागले जनाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली २० किलोमिटर टाढा रहेको प्राधिकरणको तिङला सवस्टेशनमा जोडिन प्रस्ताव गरिएको छ ।

बुधबार १ मंसिर २०७८ १०:३५ AM मा प्रकाशित

प्रतिक्रिया