काठमाडौं । नेपालको पुरानो र ठूलो व्यावसायिक घराना ज्योति ग्रुपले आफूसँग भएका सबै उद्योगको क्षमता विस्तार गर्ने भएको छ । बजारको आधार बढ्दै गएको र मागमा पनि बढोत्तरी भइरहेकाले ज्योति ग्रुपले अक्सिजन, हिमाल आइरन र जे स्पीनिङ मिलको क्षमता बढाएर दोब्बर पुर्याउन लागेको हो ।
नेपालमा स्टिल उद्योग हिमाल आइरन खोल्ने ज्योति ग्रुप पहिलो व्यवसायिक घरना हो । त्यसैगरी ज्योति स्पिनिङ मिल्स स्थापना गर्नेमा पनि पहिलो नम्बरमै पर्छ ज्योति ग्रुप ।
ज्योति स्पिनिङ बन्द भएर अहिले जे स्पिनिङ मिल्सको नाममा सञ्चालनमा छ । अहिले ती तीन वटै उद्योगको क्षमता दोब्बरदेखि तेब्बरसम्म पुर्याउन लागेको ज्योति ग्रुपका निर्देशक अभिक ज्योतिले जानकारी दिए ।
‘नयाँ कम्पनीले बजार देखाएका छन् । त्यही भएर ज्योति ग्रुपले पनि आफ्नो व्यवसाय गर्ने शैली परिवर्तन गरिरहेको हो,’ ज्योतिले क्याटिल नेपालसँग भने, ‘बजारमा प्रतिस्पर्धी तबरबाट उत्रिरहेका छौ । त्यही अनुरुप आफ्नो व्यवसाय विस्तार गर्ने योजना छ । कतिपय व्यवसाय विस्तार पनि भइसकेको छ ।’
३/४ वर्ष अघिसम्म जे स्पिनिङ चलाउने कि नचलाउने भनेर अन्यौलमा थियो ज्योति ग्रुप । तर, त्यही बेला नयाँ नयाँ स्पिनिङ मिल खुल्नेक्रम बढेपछि ज्योतिले पनि सम्भावना देखेर उद्योगलाई पुनसंचरना गरेर सञ्चालनमा ल्याएको हो ।
अभिकका अनुसार अहिले उद्योग तीन सिफ्टमा चलिरहेको छ । केही महिना अघिसम्म एउटमा सिफ्ट मात्रै उद्योग सञ्चालनमा आएको थियो । केही समय अघिसम्म मासिक ११५ टन धागो उत्पादन गरिरहेको जे स्पीनिङ मिलले अहिले महिनामा ३६० टन उत्पादन गरिरहेको छ ।
४० हजारदेखि ५० हजार टन रड उत्पादन गरिरहेको हिमाल आइरनलेको पनि क्षमता तीन गुणा बढाउने तयारी गरेको छ । त्यसका लागि अध्ययन भइसकेको उनको भनाइ छ । ५० हजार टनबाट १५० हजार टन उत्पादन गर्ने योजना बनाइरहेको ज्योति बताए
अक्सिजनको पनि क्षमता विस्तार गर्ने योजना अघि बढेको छ । कोभिडका कारण अक्सिजनको माग अत्यधिक भएको थियो । त्यो क्षमताले नपुगेकाले थप क्षमता विस्तार गर्न लागिएको हो ।
ज्योति ग्रुपको विराटनगर, वीरगञ्ज र काठमाडौंमा अक्सिजन उद्योग छ । क्षमता विस्तारका लागि अध्ययन भइरहेको छ । त्यसबाहेक मोटरसाइकलको व्यवसाय विस्तारका लागि पनि अध्ययन गरिरहेको छ ।
सरकारले अन्तःशुल्क ५० प्रतिशत छुट दिएकाले हिरोको एसेम्बल्ड उद्योग नेपालमै लगाउने सोच बनाएर अघि बढेको उनको भनाइ छ । त्यसबाहेक कुन कुन व्यवसायको विस्तार गर्न सकिन्छ भनेर ज्योति ग्रुपले अहिले हेरिरहेको उनले सुनाए ।
जुन जुन क्षेत्रमा अवसरहरु छन् त्यो त्यो क्षेत्रमा थप लगानी वा क्षमता विस्तार गर्ने योजना ग्रुपको छ । ज्योति ग्रुपले अहिलेसम्म आफ्नो व्यवसाय विस्तार भन्दा पनि यसलाई टिकाइराख्नु नै सबैभन्दा ठूलो कुरा भएको अभिकको भनाइ छ । यो बीचमा ज्योति ग्रुपले केही नीतिगत अप्ठ्याराका कारण आफ्नो व्यवसाय विस्तार गर्न सकेन ।
१० वर्षै माओवादी द्वन्द्व, देशमा भएको दैनिक १८ घण्टासम्म लामो लोडसेडिङका कारण ज्योति ग्रुप आक्रमक रुपमा व्यवसायमा आउन सकेन । बिजुली आपूर्ति पनि सहज भएकाले व्यसायमा आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो ।