काठमाडौं । सरकारले निर्माण सुरु गरेको राष्ट्रिय गौरवका आयोजनाहरूको काम धमाधम भइरहेका छन् । दुई दर्जन राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये दुईवटा सम्पन्न भएका छन् । आगामी आर्थिक वर्षमा दुईवटा विमानस्थल पनि सम्पन्न हुने अवस्थामा पुगेका छन् ।
चालू आर्थिक वर्ष ०७७/०७८ मा मेलम्ची खानेपानी आयोजना सम्पन्न भई राजधानी काठमाडौंमा दैनिक थप १७ करोड लिटर पानी आपूर्ति भइसकेको छ । थप ३४ करोड लिटर पानी आपूर्ति गर्न याङग्री र लार्के खोलाको संभाव्यता अध्ययन भइरहेको छ ।
यस्तै ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना पनि सम्पन्न भएको छ । अहिले विद्युत उत्पादनको परीक्षण भइरहेको छ । जेठ १२ गतेसम्म एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी भइरहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी गराएका छन् । उनका अनुसार आगामी भदौसम्म ६ वटै युनिट सञ्चालनमा आई ४५६ मेगावाट नै बिजुली उत्पादन हुनेछ ।
सञ्चालनमा आएपछि यी दुई ठूला आयोजनाले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने भएका छन् । यी आयोजनाले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिमा सघाउ पुग्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
सिक्टा सिँचाइ आयोजना र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चालू आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएकोमा पूरा नहुने भएको छ । कोरोना महामारीको दोस्रो छाल आएका कारण आगामी आर्थिक वर्षमा सक्ने अनुमान गरिएको छ ।
भेरी बबइ डाइभर्सन परियोजनाको १२ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको छ । सिँचाइ र विद्युत उत्पादन लागि विद्युतगृह संरचना निर्माणको काम सुरु भएको छ । यो आयोजना आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । गौरवका आयोजनाको काम ढिलोमा आर्थिक वर्ष ०९३/०९४ मा सक्ने लक्ष्य रहेको छ । ढिला सम्पन्न हुनेमा राष्ट्रपति चुरे आयोजना रहेको छ ।
रेल्वे तथा मेट्रो विकास आयोजनाअन्तर्गत केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग तथा अन्य रेलमार्गको अध्ययन पनि समावेश गरिएको हुनाले निर्माण सम्पन्न हुने मिति यकिन हुन नसकेको हो । पशुपति क्षेत्र विकास कोषअन्तर्गतका निर्माण कार्यहरू सालबसाली विनियोजन हुने बजेटको आधारमा निरन्तर भइरहेको हुनाले सम्पन्न हुने मिति प्रस्ट हुन सकेको छैन ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको २० वर्षे गुरुयोजना वि.सं. २०७४ साल जेठ महिनामा स्वीकृत भएको हुनाले आर्थिक वर्ष २०९३/०९४ मा सम्पन्न हुने अनुमान गरिएको छ । उल्लिखित तालिकाअनुसार तीनवटा राष्ट्रिय गौरवका आयोजनाहरू आर्थिक वर्ष २०७७/०७८ मा निर्माण सम्पन्न हुनेछन् ।
ती गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र मेलम्ची खानेपानी आयोजना हुन् । दुईवटा आयोजनाहरू आव २०७८/०७९ मा सम्पन्न हुने कार्यतालिका रहेको छ । छवटा आयोजनाहरूको निर्माण आ.व. २०७९/०८० मा सम्पन्न हुने प्रक्षेपण गरिएको छ ।
त्यसैगरी, आव ०८०/०८१ मा थप छवटा आयोजना सम्पन्न हुनेछन् । समग्रमा, आगामी पाँच वर्षभित्र हाल चालू अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये १७ वटाको निर्माण सम्पन्न गर्ने लक्ष्य योजना आयोगको छ ।
प्रस्तावित २४ वटा आयोजनाको काम सम्पन्न लागत १५ खर्ब ५८ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यी आयोजनाहरूको सुरुको कुल लागत १७ खर्ब २९ अर्ब रुपैयाँ थियो । चालू आर्थिक वर्ष २०७७/०७८ सम्म संशोधित खरिद गुरुयोजनाको आधारमा लागत अनुमान परिवर्तन भएको छ । संशोधित लागत १ खर्ब ७१ अर्बले घटेर १५ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, उत्तर दक्षिण (कालीगण्डकी करिडोर) र पशुपति क्षेत्र विकास कोषको आर्थिक वर्ष ०७७/०७८ मा संशोधत भई कुल लागतमा कमी हुन आएको आयोगले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०६८/०६९ मा १७ वटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा समावेश गरिएको हो । दोस्रोपटक, आर्थिक वर्ष ०७०/०७१ मा चारवटा, तेस्रोपटक आर्थिक वर्ष ०७५/०७६ मा एउटा, त्यसैगरी आर्थिक वर्ष ०७६/०७७ मा एक र आर्थिक वर्ष चालू आर्थिक वर्ष ०७७/०७८ को बजेटले महाकाली सिँचाइ आयोजनालाई गौरवको आयोजनामा राखेको छ । योसँगै हालसम्म राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या २४ पुगेको हो ।
राष्ट्रिय गौरवका आयोजनामध्ये सडक तथा रेलसम्बन्धी सातवटा, सिँचाइसम्बन्धी छवटा, जलविद्युत्सम्बन्धी चारवटा, विमानस्थलसम्बन्धी तीनवटा, धार्मिक तथा सांस्कृतिक सम्पदासम्बन्धी दुईवटा र खानेपानी एवम् चुरेक्षेत्र संरक्षणसम्बन्धी एक/एकवटा आयोजना छन् ।
मन्त्रालयगत रूपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका १० वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत छवटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पाँचवटा, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको कार्यक्षेत्रमा पर्ने एक/एकवटा राष्ट्रिय गौरवका आयोजना छन् ।
रक्षा मन्त्रालयअन्तर्गतको नेपाली सेनालाई काठमाडौं –तराई मधेस द्रुतमार्ग सडक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी प्राप्त भएको छ । कालीगण्डकी करिडोर र कर्णाली करिडोरको केही खण्डमा पनि नेपाली सेनाबाट काम भइरहेको आयोगले जानकारी दिएको छ ।
गौरवको आयोजनामा सूचीकृत अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसमेत राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत भएको छ । कुल ७५ अर्ब रुपैयाँको यो परियोजनाअन्तर्गत ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारणलाइन निर्माण गर्ने योजना छ । यो आयोजना विवादमा परेकाले सम्पन्न गर्ने मिति तय भएको छैन ।
यस्तै ७५० मेगावाटको पश्चिम सेती जलाशययुक्त आयोजना र रेल्वे तथा मेट्रो विकास आयोजनाको पनि सम्पन्न मिति नतोकिएको आयोगले जानकारी दिएको छ ।