काठमाडौं । निरन्तर सेयर बजार घटिरहँदा साना लगानीकर्ता पेनिक देखिएका छन् । बजार घटिरहँदा लगानीकर्ताहरु थप नोक्सानी हुन नदिने (स्टप लस गर्ने) कि केही समय पर्खिने भनेर दोधारमा फसेका छन् ।
खासगरी केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गर्ने पूर्वसंकेत पाएर बजारबाट नाफा बुक गरेर बाहिरिएका ठूला लगानीकर्ताले सरकार, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डसँग वार्ता गर्ने र देखिएका समस्या समाधान गरेपछि मात्रै सेयर बजारमा प्रवेश गर्ने अफवाह बजारमा छाडेपछि साना लगानीकर्ताले दबाब महसुस गरेका हुन् ।
भदौ २ गते हालसम्ममै उच्च ३१९८ बिन्दूमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कहिलेकहीँ अचानक बढ्दै र धेरै दिन घट्दै गरेर २९०० बिन्दूभन्दा तल आइपुगेपछि लगानीकर्ता अन्यौलमा फसेका हुन् । ठूला लगानीकर्ता बजारबाट बाहिरिएसँगै साना लगानीकर्ताले बजारलाई थेग्ने कोसिस गरिरहेका छन् । तर, कामयावी हुन पाइरहेको छैन । कारोबार रकम पनि घटेर ५ अर्ब हाराहारीमा सीमित हुन थालेको छ । तर, बजार बढ्ने कुनै छनक देखिएको छैन । यद्यपि, सामाजिक सञ्जालहरुमा यो ‘बुलिस ट्रेन्ड’ हो । बजार नबढी सुखै छैन भन्ने खालका रोइलो मच्चिएको पाइन्छ । तर, पनि बजार सूचक ओरालै लागेको छ ।
बुधबार पनि नेप्से सूचक ४०.२५ अंकले घटेर २८८९.०४ बिन्दूमा रोकिएको छ । यद्यपि कारोबारको अन्तिम समयमा २८८२ सम्म झरेको थियो । मंगलबार २९२९.२९ अंकमा रोकिएको बजार सूचक बुधबार कारोबार खुल्दा बढेर २९३६ सम्म पुगेको थियो । तर, त्यसपछि धेरै घट्ने र थोरै बढ्ने प्रतिस्पर्धाका बीच न्यूनतम बिन्दूबाट केही उठेर कारोबार रोकिएको हो ।
मंगलबार मध्य समयमा ३६ अंकसम्म झरेको बजार अन्तिममा सम्हालिँदै १८ अंकले घटेर रोकिएको थियो । सामान्यतयः अन्तिम समयमा घटेको स्थितिलाई ब्रेक गर्दै बढ्ने संकेत गरेका बेला भोलिपल्टको कारोबार सकारात्मक बन्ने गर्छ । पछिल्ला दिनमा नेप्सेमा यो प्रवृत्ति फलो भएको देखिँदैन । यसले बजार अझै घट्ने आंशकाहरु पैदा गरेको छ र २८९० को टेवालाई छिचोलेर बजार तल झर्दा २८७० मा केही रोकिन सक्छ । त्यस्तो देखिएन भने २८०० बिन्दूतिर नेप्से जाने सम्भावना बढी छ । त्यसका लागि ठूला भनिएका लगानीकर्ताहरुले राष्ट्र बैंक, अर्थ मन्त्रालय र धितोपत्र बोर्डसँग वार्ता गर्ने भन्दै विभिन्न अफवाह फैल्याइरहेका छन् ।
बुधबार पनि अर्थमन्त्री जनार्दन शर्मासँग वार्ता भन्दै सामाजिक सञ्जालमा रोइलो मचाएका थिए । तर, अर्थ मन्त्रालयले बुधबार कसैलाई नभेट्ने जानकारी गराएको थियो । खासगरी, सेयर धितो कर्जाको सीमा र अन्य नियामकीय सुधारका पक्षहरुलाई केलाउन अर्थमन्त्री र नियामकहरुसँग लगानीकर्ताले बार्गेनिङ गर्दै आएका छन् । धितोपत्र बोर्डले अध्यक्ष नभएकाले अहिले केही गर्न नसकिने जनाइसकेको छ ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर खरिदमा अनियमितता गरेको आरोपमा न्यायीक छानबिनमा छन् । उनी यतिबेला निलम्बित छन् । उता मुख्य समस्या ल्याएको भनिएको मौद्रिक नीति जारी गरेका गभर्नर महाप्रसाद अधिकारीले लगानीकर्ताहरुलाई भेट दिएका छैनन् । यद्यपि लगानीकर्ताहरुले अर्थमन्त्री शर्मालाई भेटेपछि मात्रै गभर्नरलाई भेट्ने हल्ला मच्चाइरहेका छन् ।
यो परिवेशले बजारमा टिकिरहेका लगानीकर्ता अब सुरक्षित अवतरणतर्फ लाग्ने कि थप जोखिम मोल्ने भन्ने अन्यौलमा छन् । निरन्तर कारोबार रकम र सूचकमा गिरावट आउँदा आत्तिएका लगानीकर्ताहरु अझै उपयुक्त समाधानको खोजिमा छन् ।
बुधबार १८ वटा कम्पनीको सेयर मूल्यमा सामान्य वृद्धि भएको छ । यसमा सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्तको ८.२३ प्रतिशत वृद्धि भएको छ । उता घटेको बजारलाई समर्थन गर्दै १९३ कम्पनीको मूल्य ओरालो लाग्दा सबैभन्दा बढी एनआईबीएल समृद्धि फन्ड एकको मूल्य ६.८८ प्रतिशतले घटेको छ । यसदिन ५ अर्ब ३५ करोडको सेयर किनबेच हुँदा सबैभन्दा बढी अरुण भ्याली हाइड्राेको २२ करोड १४ लाख रुपैयाँ कारोबार भएको छ ।