बुधबार, कात्तिक ३ २०७८ ०९:४५ AM

×

होटल नमस्कारको रि–ब्राण्डिङ, ‘होटल नमस्कार रिजेन्सी’ को नाममा सञ्चालन 

images

विराटनगर । चार दशक पुरानो होटल नमस्कार कोरोना महामारीका कारण बन्द भएको थियो । २०७७ असोजमा सञ्चालकले कोरोना र पुरानो संरचना भएका कारण होटल बन्द गर्नुपरेको बताएका थिए । 

व्यवसायी यूनेस श्रेष्ठले होटलको जिम्मेवारीवहन गर्दै आएको थिए । करिब १० कट्ठा क्षेत्रफलमा स्थापित होटल नमस्कार अब नयाँ नामले पुनः सञ्चालनमा आउने भएको छ । होटल नमस्कार रिजेन्सीको नामबाट सञ्चालनमा ल्याउन लागेका हुन होटल तथा पर्यटन व्यवसायी विजयराज प्रसाईले । होटल एक वर्षपछि पुनः सञ्चालनमा आउने भएको हो । 

प्रसाईले २२ वर्षदेखि विराटनगरमा मुन होटल सञ्चालन गर्दै आएका छन् । २०५३ सालमा ५० लाख रुपैयाँ लगानीमा सञ्चालन गरेको होटलको लगानी २ करोड रुपैयाँ पुगिसकेको छ । ३ कट्ठा जमिनमा फैलिएको तीन तले होटलमा १० कोठा रहेको सञ्चालक प्रसाईले जानकारी दिए । जग्गा भाडामा लिएर होटल सञ्चालन गरेका हुन ।

लामो समय होटल तथा पर्यटन क्षेत्रमा लागेका प्रसाईले ३ करोड रुपैयाँ लगानी थप गरी नमस्कार रिजेन्सी होटल सञ्चालनमा ल्याउन लागेका हुन । होटलको पहिलाको भवनको वालमात्र राखेर अरु सबै रिकभर गरेको उनले जानकारी दिए । 

‘होटलका कोठाहरु सबै पुनःसंरचना गरिएको छ, भित्री पाटो सबै नयाँ बनाईएको छ’, उनले भने, ‘२७ वटा सुविधासम्पन्न कोठा बनाईएको छ, सबै एसीसहितको कोठा छन्, २५० जना अट्ने हल छ ।’

होटलमा २ वटा पारिवारिक रेष्टुरेन्ट रहेको पनि प्रसाईले जानकारी दिए । विराटनगरको पर्यटक स्तरीय पहिलो होटल भएकाले यस्तो होटल चलाउनुपर्छ भन्ने लागेर आफुले सञ्चालन गरेको उनले बताए । विराटनगरको ट्राफिक चोक नजिकै रहेको होटलको लोकेशन पनि सहि ठाउँमा भएको र पहिचाहन बोकेको होटललाई जोगाउने उदेश्यले आफुले लगानी गरेको प्रसाईले जानकारी दिए । 

होटल नमस्कारले पनि लिजमा लिएर सञ्चालन गरिएको थियो । १५ बर्षको लागि लिजमा लिएर होटल सञ्चालन गरेको उनले जानकारी दिए । 
‘अहिले होटलमा लगानी गर्ने अवस्था छैन, कोरोनाका कारण होटल व्यवसाय सिथिल भएको छ’, उनले भने, ‘भारतीय पर्यटकले चल्ने विराटनगरका होटल सिमा बन्द हुने बित्तिकै बन्द अवस्थामा पुगेका थिए ।

पछि बजार खुल्यो, केही आशा पलायो, मैले गत माघदेखि लगानी गरेको र संरचना पुननिर्माण गर्नेकाम सुरु गरेको थिए । फेरी कोरोनाको दोस्रो लहर आयो, लगानी खोलामा गयो भन्ने लागेको थियो । लगानी गरिसकेपछि चलाउने उदेश्यले काम रोकिएन । अहिले संरचनामा निर्माणको काम सकिएको छ ।’

ग्राहकलाई सेवा दिन थालिसकेको बताउँदै प्रसाईले होटलको असोज १ गते विधिवत रुपमा उट्घाटन  गरिने बताए । अब बजार बन्द भएन र पर्यटक आउने वातावरण भयो भने होटलहरु राम्रो सञ्चालन हुने र लगानी पनि उठाउन सकिने उनले बताए । फेरि बन्द भए जुवामा हारेको जस्तो हुने उनको भनाई छ ।

विराटनगर प्रदेशको राजधानी भएकाले पनि सामान्य अवस्थामा पर्यटक स्तरीय होटल अझै आवश्यक पर्ने उनको भनाई छ । सरकारले पनि होटल व्यवसायलाई न्यायोचित तरिकाले हेनुपर्ने प्रसाईले बताए । 

बुधबार ३० भदौ २०७८ ०५:४२ PM मा प्रकाशित

प्रतिक्रिया