मङ्गलबार, असोज १२ २०७८ ०३:४० PM

×

के हो आज सार्वजनिक हुने टेलिकमको नमस्ते पे ?

images

काठमाडौं । नेपाल टेलिकमले बहुप्रतिक्षित विद्युतीय भुक्तानी सेवा ‘नमस्ते पे’ आज सार्वजनिक गर्दैछ । गत जेठमै सार्वजनिक गर्ने भनिएको यो सेवा विभिन्न परीक्षण तथा तयारीका कारण पछि सरेको हो । बिना इन्टरनेट अफलाइनमै भुक्तानी कारोबार गर्न सकिने आकर्षक फिचर भएको यो मोबाइल भुक्तानी सेवाको ग्राहकहरुले लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए । 

के हो नमस्ते पे ?

नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकले सहकार्यमा तयार पारेको पहिलो सरकारी मोबाइल मनी सेवा हो । यी दुई कम्पनीले नमस्ते पे मोबाइल सेवाकै लागि केही समयअघि नेपाल डिजिटल पेमेन्ट कम्पनी एनडीपीसी पनि खडा गरिसकेको छ । नेपाल राष्ट्र बैंकले एनडीपीसीलाई सेवा सञ्चालनका लागि २०७७ चैतमा अनुमति दिएको थियो । 

एनडीपीसीअन्तर्गत सञ्चालन हुने नमस्ते पे हालसम्मकै सबैभन्दा ठूलो ४० करोड  रुपैयाँ चुक्ता पुँजी भएको भुक्तानी सेवा प्रदायक कम्पनी हो । हाल सञ्चालनमा रहेका सबैभन्दा ठूला वालेट कम्पनी आईएमई पे र प्रभु पेको चुक्ता पुँजी १० करोड र तेस्रो ईसेवाको चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको छ । 

सरकारी कम्पनीले सञ्चालन गर्ने यो भुक्तानी प्रणाली पनि अन्य भुक्तानी प्रणाली जस्तै नै छ । यसबाट पनि विभिन्न युटिलिटी, बिल, टिकटको भुक्तानी, टपअप आदी गर्न सकिन्छ । 

अन्य वालेट तथा भुक्तानी सेवा प्रदायकहरुको सेवा प्रयोग गर्न इन्टरनेट अनिवार्य हुन्छ । तर, नमस्ते पेलाई भने अनलाइन अफलाइन दुवै अवस्थामा प्रयोग गर्न सकिन्छ । अफलाइनमा यूएसएसडी कोड एस्ट्रिक ५०० ह्यास टाइप गरी प्रयोगकर्ताले भुक्तानी गर्न सक्छन् ।

यस्ता यूएसडी च्यानलहरु एकदमै द्रूत हुन्छन् । यसलाई स्मार्टफोन नभएका र डिजिटल निरक्षर व्यक्तिहरुले पनि अन्य प्रणालीको तुलनामा सजिलै प्रयोग गर्न सक्छन् । यसबाहेक जुनसुकै मोबाइल नेटवर्क अपरेटर कम्पनीका सेवाग्राहीले टेलिकमको नमस्ते पे प्रयोग गर्न सक्ने छन् । 

आफ्नो मोबाइल नम्बरको माध्यमबाट नमस्ते पेमा डिजिटल कारोबार गर्न सकिन्छ । यसका लागि प्लेस्टोरमा उपलब्ध हुने नमस्ते पेको एप डाउनलोड गरी साइनअप गर्नुपर्नेछ । 

तर, यसअघि टेलिकमले मोबाइल ब्यालेन्स फण्ड प्रयोग गरी युटिलिटी भुक्तानी गर्न सकिने सुविधा भने नियामकको प्रतिबन्धका काण रोक्किएको छ । 

हालसम्म नमस्ते पेमा राष्ट्रिय वाणिज्य बैंकलगायत आठवटा बैंकहरु जोडिसकेका छन् । जसका प्रयोगकर्ताहरुले आफ्नो बैंक खातालाई टेलिकमको नमस्ते पेमा लिंक गरी डिजिटल कारोबार गर्न सक्नेछन् । 

मङ्गलबार २९ भदौ २०७८ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया