काठमाडौं । कानुनी छिद्र प्रयोग गरेर न्यून मूल्याँकनमा ई–रिक्साको ब्याट्री भित्र्याएर राज्यलाई ठूलो नोक्सानी पुर्याउँदै आएको सुनसरीको दुहबीमा रहेको शुभलक्ष्मी इन्टरप्राइजेजमाथि राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागले छापा मारेर ४ वर्षको सम्पूर्ण विवरण नियन्त्रणमा लिएको छ ।
केही दिन अघिदेखि क्यापिटल नेपाल डटकमले न्यून बिजकीकरणमार्फत भित्रिएका ई–रिक्साका ब्याट्रीको निरन्तर समाचार प्रकाशित गरेपछि अर्थ मन्त्रालय र उमातहतका निकाय भन्सार विभाग, आन्तरिक राजस्व विभागले चासो दिएका थिए । त्यसगत्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् मातहत रहेको राजस्व अनुसन्धान विभागले पनि चासो लिएको थियो । बिहीबार राजस्वका टोलीले शुभलक्ष्मीमाथि छापा मारेर ४ वर्षको सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो ।
शुभ लक्ष्मीले ९० डलरभन्दा बढी मूल्य पर्ने ई-रिक्साको ब्याट्री ६२ डलर मूल्यांकन गराएर पज्ञापन पत्र क्यापिटल नेपालले प्रकाशित गरेको थियो । शुभलक्ष्मी मात्रै होइन्, रुपन्देहीको मणिरन्त मल्टी ट्रेडर्सले ५० डलरको मूल्यांकन गराएर ठूलो परिमाणमा ई–रिक्साको ब्याट्री भित्र्याएको प्रमाण फेला परेको छ ।
भन्सारको सन्दर्भ मूल्य पुस्तिकामा भएको व्यवस्थालाई गलत तरिकाले प्रयोग गरेर ठूलो परिमाणमा न्यून बिजकीकरणमार्फत ब्याट्री भित्रिरहेका छन् । राजस्वले शुभलक्ष्मीमाथि छापा मारेपछि पूर्वमै रहेका अन्य कम्पनीका सञ्चालकहरु गोदाम बन्द गरेर फरार भएका छन् । आफ्नो कम्पनीमाथि पनि राजस्वले छापा मार्न सक्ने भन्दै उनीहरु गोदाम बन्द गरेर भागेका हुन् ।
न्यून बिजकीकरण गरेर ब्याट्री भित्र्याउँदा राज्यलाई नोक्सानै नोक्सान मात्रै छ । पाउनुपर्ने आयकर गुम्यो, हुण्डीमार्फत कारोबार भयो । जसले भित्रिनुपर्ने डलर पनि नेपाल भित्रिएन । वास्तविक कारोबार देखिएन ।
अर्थसचिव कृष्णहरि पुस्कर, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, आन्तरिक राजस्व विभागका महानिर्देशक हितेश शाक्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीको संयुक्त प्रयासबाट छापा मार्ने काम भएको हो ।
स्रोतका अनुसार अझै धेरै कम्पनीमाथि राजस्वले छापा मार्नुपर्ने बताउँछन् । ‘शुभ लक्ष्मीले मात्रै न्यून बिजकीकरण गरेर ब्याट्री भित्र्याउँदैन । दर्जनौ कम्पनीको धन्दा नै यही छ,’ स्रोतले भन्यो, ‘बंगलादेशबाट भित्रिने अधिकांश ब्याट्री न्यून बिजकीकरणमार्फत नै आउने गरेको छ ।’