काठमाडौं । सीमा-नाका खुले पनि चोरी पैठारीलाई रोक्ने सरकारको प्रतिबद्धतापछि ठूलो परिमाणमा सामान आयात गरेका व्यवसायी अहिले गम्भीर समस्यामा परिरहेका छन् ।
दैनिक उपभोग्य वस्तु चोरीपैठारी भएर भित्रिन थालेपछि नेपालका उद्योगहरु गम्भीर आर्थिक संकटमा परेका हुन् । करोडौं रुपैयाँ खर्चिएर खाद्यान्नको कच्चा पदार्थ झिकाएका छन् । तर, सीमावर्ती बजारमा पारीबाट ठूलो परिमाणमा दैनिक उपभोग्य वस्तुको आयात हुन थालेपछि उद्योगीहरुले ओभर स्टकिङको मार खेपिरहेको निम्बस होल्डिङ्सका कार्यकारी निर्देशक डा. दिनेश गौतमले बताए ।
‘सरकारले सीमामा कडाइ गर्ने भनेपछि सीमा बन्द हुँदाकै अवस्था जसरी माग बढ्ने आँकलनका आधारमा ठूलो परिमाणमा कच्चा पदार्थ झिकाइयो’ उनले भने, ‘सीमा–नाका खुला भएसँगै चोरीपैठारी पनि खुला भयो । त्यसपछि नेपालको उत्पादन बिक्री हुन छाड्यो । अहिले चौरीपैठारीले कुल मागको २० प्रतिशत हिस्सा ओगटिसकेको छ ।’
एकातिर नेपाली उद्योगमा उत्पादित सामग्री गोदाममै थन्किएर बसेको छ । यस्तै कच्चा पदार्थ पनि गोदाममै सड्ने अवस्था आइसकेको छ । उत्पादित मालसामान पनि गोदाममै छ । अवस्था थप दयनीय नहोस् भनीकन उद्योगीहरू घाटा बेहोरेरै भए पनि सामान बेच्न बाध्य भएका छन् ।
गौतमका अनुसार अहिले हरेक खाद्य उद्योगले मासिक रुपमा ६ देखि १० करोड नोक्सानी बेहोरेर सामान बेचिरहेका छन् । भारतीय बजारबाट चोरीपैठारी भएर आउने सामानसँग प्रतिस्पर्धा गर्न नेपाली उद्योगीले लागतभन्दा १५ देखि २० रुपैयाँ घाटा खाएर सामान बेच्न बाध्य भइरहेको उनको भनाइ छ ।
खासगरी ठूलो परिमाणमा भारतबाट दाल, चामल, चिनी, तेललगायतका दैनिक उपभोग्य वस्तु चोरीपैठारी भएर आउने गरेको छ ।
विराटनगरका एक व्यवसायीका अनुसार चोरीपैठारीले सीमा नाघेको छ । सरकारी अधिकारीले चोरीपैठारी रोक्न कुनै प्रयास नगर्दा एकातिर सरकारले राजस्व गुमाइरहेको छ भने अर्कोतिर गोदाममा उत्पादित सामग्री स्टक बसेको छ ।