काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई मर्ज गर्ने भएको छ । मर्ज प्रक्रिया अघि बढाउन दुबै बैंकले बुधबार साढे ३ बजे समझदारीपत्र (एमओयू) मा हस्तक्षर गर्ने भएका छन् ।
नबिलले सञ्चालक उदयकृष्ण उपाध्यायको नेतृत्वमा मर्जर समिति गठन गरेको छ । एनबी बैंकको १०० कित्ता सेयर नबिलमा मर्ज भएपछि ४३ कित्ता हुने गरी सेयर आदनप्रदान अनुपात ( स्वाप रेसियो) कायम भएको छ ।
एमओयूको मस्र्यौदा तयारीको काम भइरहेको छ । नेपाल राष्ट्र बैंकलाई एनबी नबिलमा मर्जपछि स्वाप रेसियो ४३ हुने जानकारी गराइएको छ ।
एनबी बैंकमा रहेको बंगलादेशको आईएफआईसी बैंकको ४१.९१ प्रतिशत स्वामित्व छ । आईएफआईसीको सेयर विनोद चौधरीले श्रीमती सारिका चौधरीको नाममा किन्ने डिल गरेका छन ।
हाल नबिलको चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ छ । साधारणसभाले ३३ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुँजी बढ्ने छ ।
नबिलको शुक्रबार साधारणसभा हुँदै छ । चौधरीले एनबीको १५७ रुपैयाँमा सेयर किन्ने भएका छन् । नेपाल राष्ट्र बैंकले पनि नबिलसँग मर्जमा जाने सर्तमा सो सेयर चौधरीलाई किन्न अनुमति दिएको हो ।
यता नेपाल बंगलादेश बैंकले गएको मंसिर २ गते नै २७ औं वार्षिक साधारणसभा गरी १२ प्रतिशत अर्थात् १ अर्ब ८ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिसकेको छ । एनबीको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ ।
प्रतिक्रिया