बुधबार, कात्तिक ३ २०७८ ०९:३४ AM

×

हिमालसँग पूर्णिमाको प्रेम

images

पूर्णिमा श्रेष्ठ, पेशाले फोटो पत्रकार हुन् । तर, अबको उनको चिनारी यसैमा सीमित छैन । फोटो पत्रकारभन्दा ज्यादा उनलाई हिमाल आरोहीका रुपमा बढी चिनिन्छ । नचिनिउन पनि कसरी, उनले संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा आरोहण गरिसकेकी छिन् ।

सगरमाथासहित श्रेष्ठले अन्नपूर्ण र मनास्लु हिमाल पनि आरोहण गरिसकेकी छिन् । एड्भेन्चर टुरिजममा बढी चाख राख्ने श्रेष्ठ नयाँ ठाउँ घुम्ने र फोटो खिच्नेमा सौख राख्छिन् । गोरखामा जन्मिएकी श्रेष्ठले सानैदेखि हिमाल देखेर हुर्किइन् । त्यसैले पनि उनको हिमालसँग प्रेम छ । उनै फोटोग्राफर श्रेष्ठले घुमेका ५ गन्तव्यका बारेमा उनकै शब्द र तस्बिरः

 गोसाइँकुण्ड

गोसाइँकुण्ड म तीन पटक गइसकेको छु । तर, पनि धित भने मरेको छैन । पहिलो पटक म साथीहरूसँग गएको थिए । छोटो समयमा गएर छिटो फर्कन सकिने यात्रा गर्न अझ सहज हुन्छ । किनभने बजेट पनि कम लाग्ने र समय पनि थोरैमा धेरै यात्रा गर्न मन पर्छ ।

अफिसबाट समय मिलाउनसमेत सहज हुने भएकाले पहिलो यात्रानै तीन दिनमा गोसाइँकुण्ड पुगेर फर्किएको थिए । हिमाली क्षेत्रमा घुम्नलाई धेरै खर्च लाग्छ भन्ने सुनिएको थियो ।

तर, मैले जम्मा ३ हजार ५ सयदेखि ४ हजार रुपैयाँमा घुमेर आएका छु । त्यहाँ जाने रहर अझै मेटिएको छैन । त्यो क्षेत्रमा हिउँ परेको बेला कस्तो हुन्छ होला भन्ने उत्सुकता जागेको कारण हिउँदको समयमा फेरि त्यसतर्फ गएँ । त्यहाँको पोखरीमा आइसबाफ लिन मन लागेकाले पनि विभिन्न चुनौतीलाई पार गर्दै त्यहाँ पुगेर फर्र्किएको छु ।

नेपालमा मौसमअनुसार ठाउँहरूको फरक–फरक दृश्यको महसुस गर्न पाइन्छ । त्यसैले नेपालको हिमालय कहिल्यै पनि अफ सिजन हुँदैन भन्ने महसुस गरेको छु । जुन समयमा गए पनि नयाँ–नयाँ दृश्यहरूलाई अवलोकन गर्न पाउने हुनाले फरक अनुभूति गर्न पाइन्छ ।

तेस्रो पटक भने गएको जनैपूर्णिमाको दिन त्यहाँ पुगेको थिएँ । मेलाको बेला कस्तो हुन्छ भनेर त्यहाँ गएको हुँ । यो पटक भने बुबा सहितको पारिवारिक भ्रमणमा गएको हुँ । मेरो बुबा ६१ वर्षको हुनुभएको छ ।

बुबालाई त्यो समयमा त्यहाँ लैजाँदा मौसमले साथ दिन्छ वा दिँदैन भन्ने तनाव भइरहेको बेला पनि चुनौतीलाई पार गर्दै सहज रुपमा त्यहाँ पुगेर फर्किए । परिवारसँग जाँदा अर्कै महसुस गरे । तीन पटक जाँदा तीनै थरीको दृश्यहरू देख्न पाउँदा मन आनन्दित भयो ।

गणेश हिमाल बेसक्याम्प

गणेश हिमालको बेसक्याम्पमा २०२१ मा गएको थिए । पुसको महिना भएकाले केही जाडो बढिसकेको थियो। पत्रकारहरूलाई धादिङको रुबी भ्यालीमा लगिएको बेला भने त्यहाँबाट गणेश हिमाल बेसक्याम्पसम्म पुग्ने योजना बनाए । त्यो यात्रा मेरो लागि निकै अविस्मरणीय रह्यो ।

क्याम्पिएन ट्रेक भएकाले धेरै रमाइलो भएको थियो । फोन नलाग्ने समस्या एकातिर भए पनि स्थानीयहरूको साथ र सहयोगले यात्रा निकै रोमान्चित बनेको थियो । त्यहाँका स्थानीयहरूलाई पनि बाटो थाहा नहुँदा हामी सोध्दै–सोघ्दैसमेत गयौं । बाटोमा पानीसमेत पाइँदैन भन्ने सुनेपछि हामीले बस्ने ठाउँका लागि पानीसमेत लिएर गएका थियौं ।

नयाँ ठाउँमा एक्लो यात्रा पहिलो थियो । यसअघि खुम्बु क्षेत्र लगायतमा जाँदा सिजन भएको र धेरै मान्छेहरू भएकाले रमाइलो हुन्थ्यो । तर, यो क्षेत्रमा त्यहाँका दुई जना दाइको साहरामा एक्लो यात्रीका रुपमा थिए ।

कोही पनि नजाने भएकाले त्यहाँको बाटोसमेत थिएन । त्यहाँ हामी तीन जना हिँडेको आवाजहरू बाहेक केही सुनिँदैन थियो, त्यसमा पनि रमाइलो भयो । ६ देखि ७ दिनभित्रमा बेसक्याम्प पुग्न सफल भयौं । त्यहाँ कुन ठाउँलाई बेसक्याम्प मान्ने भन्ने आधार पनि कुनै थिएन । तर, हामी हिमालको काखसम्म पुुग्न सफल भयौं ।

बेसक्याम्प जाने कुनै बाटो थिएन । त्यति राम्रो हिमाल रहँदा–रहँदै पनि प्रचार–प्रसारको अभावले ओझेलमा परेको देख्दा दुःख लाग्यो ।

एभरेष्ट बेसक्याम्प

जीवनकै पहिलो ट्रेकिङ भएकाले मेरो मनभित्र धेरै कुराहरू खेलेका थिए । खर्च र समयको व्यवस्थापनसँगै स्वास्थ्य अवस्था कस्तो हुन्छ भन्ने समेत डर लागिरहेको थियो । युवाहरूसँग घुम्न जाने समय नै हुँदैन । अफिसमा काम गर्दै गर्दा ८ देखि १० दिनसम्म घुम्न जानका लागि बिदा मिलाउन निकै समस्या हुन्छ । सबै काम छोडेर घुम्न जाउँ न त भन्दा पनि पैसा नहुने समस्या हुन्छ ।

मलाई सबैभन्दा बढी जान मन लागेको ठाउँ एभरेष्ट बेसक्याम्प नै थियो । संयोगवश भन्नुपर्छ एभरेष्ट म्याराथनको अवसरमा त्यहाँ जाने मौका मिल्यो । सन् २०१७ मा मेरो पहिलो यात्रा हो । आयोजकले नै लैजाने भएकाले मलाई बिदा मिलाउन बाहेक अरु समस्या भएको थिएन ।

तर, आयोजकले तिमी महिला मान्छे, त्यहाँ जाँदा लेक लाग्न सक्छ, नगए हुँदैन भन्ने किसिमको कुराहरू पनि गर्नुभएको थियो । तर, मैले भने बल्लबल्ल अफिसबाट १५ दिनका लागि बिदा मिलेको र आफ्ना लागि आवश्यक जुत्ताहरू किनिसकेको हुनाले आफ्नै खर्चमा भए पनि जान्छु भन्ने सुनाएपछि उनीहरूले लैजान तयार भए ।

लेक लागेमा तिमी जसरी पनि फर्कनुपर्छ भनेर कागज गराएर मेरो यात्रा सुरु भयो । कुनै वर्क आउट नभएकाले ३ हजार ४ हजारको उचाइमा पुगेपछि मलाई लेक लाग्न सुरु गरिसकेको थियो । तर, मैले आफ्नो समस्या कसैलाई सुनाइन । किनभने मैले चाहेको कुरा पूरा गरिछाड्छु भन्ने भएकाले गाह्रो हुँदासमेत कसैलाई भनिन् ।

एभरेष्ट बेसक्याम्प पुग्नुभन्दा अलि तल थुक्ला भन्ने ठाउँमा पुग्दा भने हिँड्नलाई केही समस्या भइरहेको बेला त्यहाँको एक जना दाइले घोडा लिएर आउनु भएको रहेछ । बेसक्याम्पसम्म मान्छे ल्याउने र लैजानका लागि सो घोडा प्रयोग गरिँदो रहेछ । मलाई पनि गाह्रो भइरहेको बेला फोटो खिच्नलाई रहर गर्दा बेसक्याम्पसम्मै पुर्याइदिन अरु साथीहरूले आग्रह गरेपछि सहजै रुपमा घोडामा चढेर पुगे ।

जुन यात्रा अहिले सम्झदा पनि निकै रमाइलो लाग्छ । जुन मेरो पहिलो यात्रा पनि थियो । त्यही बेलादेखि माउन्टेन भनेको के हो ? घुम्ने भनेको के रहेछ भन्ने थाहाँ पाएको हुँ।
 
रोल्वालिङ
म सन् २०१८ मा सगरमाथा आरोहणका लागि जाने क्रममा अधिकांश गाइडहरू शेर्पा रहेको पाइएको उहाँहरूको बसाई र बस्ती कस्तो हुँदोरहेछ भन्ने जान्ने इच्छा लागेको थियो । शेर्पाहरूको गाउँ खोज्ने क्रममा दोलखाको रोल्वालिङ क्षेत्रमा गएको हुँ ।

रोल्वालिङ हिमाल आरोहीको गाउँका रुपमा परिचित छ । त्यसैले उनीहरू जन्मिएको, हुर्केको ठाउँ र रहनसहन हेर्न त्यस क्षेत्रमा गएको थियो । जुन यात्रा पनि निकै अविस्मरणीय रह्यो । असारको बेलाको यात्राले गर्दा झरी र बादलसँग लुकामारी गर्दै रोल्वालिङ क्षेत्रको यात्रा अघि बढ्यो ।

२०१९ को असार महिनामा गएकाले बाटोमा असारे फुलहरू प्रसस्त देखिएको थियो । वर्षाको कारण गौरीशंकर हिमाललाई हेर्न भने पाइएन । तर, हरियाली वातावरणसँग रमाउँदा निकै रमाइलो भयो । च्छोरोल्पा हिमतालसम्म पुगे । त्यहाँ पुग्दा पनि हिमाल देखिएन ।

हिमतालबाट फर्किने क्रममा भने मलाई चौंरीको गोठहरू हेर्न मन लाग्यो र अर्कै रुटबाट फर्कियौं । चौंरी गोठहरू भर्खर–भर्खरै ल्याएकाले बस्ने ठाउँको राम्रो प्रबन्ध थिएन भने धेरै गोठहरू पनि पाइएको थिएन । राति भइसकेपछि बल्लबल्ल बाघढुंगा क्षेत्रमा एउटा गोठ फेला प¥यो र त्यही बास बस्यौं ।

रातभरि पानी पर्दा बसाई निकै कष्टकर भयो । तर, म मात्र होइन, त्यहाँका अरुले पनि यसैगरी रात बिताएको देख्दा मेरो आजको रात हो, अरुको सधैंको रात यस्तै हो भन्ने सोच्दा ओछ्यानमा पानी चुहिँदासमेत कुनै प्रवाह नगरी निदाउने प्रयासमा रहँदाको मज्जा अर्कै थियो । चौरीसँगको उनीहरूको आत्मियता, आफ्नै सन्तान जसरी माया गरेको देखेँ । जुन, मैले त्यस किसिमको दृश्यहरू देख्न पाएको थिइन् ।

बस्तीहरूमा कुनै भीडभाड देखिँदैन थियो भने एउटा घरबाट अर्को घर पुग्न धेरै समय लाग्थ्यो । धेरै समय चौंरी गोठमा बिताउने उनीहरू सिजनअनुसार ठाउँ परिवर्तन गरिरहने भएकाले उनीहरूलाई घरमा भन्दा जंगलमा धेरै भेटिन्थ्यो ।

 अन्नपूर्ण बेसक्याम्प

अन्नपूर्ण बेसक्याम्प विश्वकै चर्चित पर्यटकीय गन्तव्य भित्र पर्छ । धेरै मान्छेहरू बेसक्याम्पमा पुग्ने गरेका छन् । त्यहाँ पनि हिमाल आरोहणका लागि दक्षिणी क्षेत्रबाट जान्छन् । मैले भने म्याग्दी साइटमा पर्ने क्षेत्रबाट यात्रा गर्ने सोचका साथ त्यहाँको गाउँपालिकासँग समन्वय गरेर त्यहाँको प्रचारमा लाग्ने सोच लिएँ । जहाँबाट हिमाल चढिन्छ, त्यो क्षेत्र निकै ओझेलमा परेको भन्दा त्यहाँका स्थानीयहरूसमेत चिन्तित थिए ।

बाटो घाटोको निकै समस्या थियो । उत्तरी क्षेत्रबाट आरोहणका लागि जानेहरू पनि हेलिकप्टरबाट जाने गरेकाले त्यो क्षेत्रमा कुनै विकास हुन सकेको थिएन । त्यसैले त्यस क्षेत्रको केही प्रचार पनि हुने र पोलिसिमा पनि केही काम गरौं भन्ने सोचका साथ अभियानलाई अगाडि बढाए । कोभिडले गर्दा २०२० मा जान नपाएपछि ०२१ मा जाने भएकाले त्यहाँ जान चाहनेहरूका लागि म्याग्दी क्षेत्रबाट चढ्नुपर्छ र त्यसलाई बेसक्याम्प बनाउनुपर्छ भनेर लागेँ ।

मेरो टिममा ९ जना यात्री र १३ जना पोर्टरहरू थियौं । बीचमा रोड बनाउँदै गरेकाले त्यहाँ बम ब्लाष्ट गरेकाले करिब १ घण्टासम्मको यात्रा निकै कष्टकर थियो । ठाउँ–ठाउँमा डोरीमा झुण्डिएर जानुपर्ने भएकाले मेरा साथीहरूलाई भने निकै समस्या भएको थियो ।

त्यो बेला ब्लगर, मिडियाका मान्छेहरू पनि लगेर गएका थियौं । नयाँ क्षेत्र भए पनि बाटोहरू निकै सहज र सरल थियो । कालीनदीको तिरैतिरको यात्रा निकै रमाइलो थियो । काठमाडौंबाट पाँच दिनमै पुगिने सो रुट निकै राम्रो थियो । प्रचार–प्रसारको अभावमा ओझेलमा परेको देखियो ।

मान्छेहरू कम भएकैले हुन सक्छ त्यस क्षेत्रमा कुनै होटलहरू थिएन । अहिले अन्नपूर्ण संरक्षण क्षेत्रसँगको समन्वयमा विभिन्न ठाउँमा होटलहरू बनाउन लागि परेका छन् । त्यसैले अन्नपूर्णको अर्को बेसक्याम्पमा जाने नयाँ रुटको रुपमा यसलाई लिन सकिन्छ ।
 धौलागिरी

त्यसैगरी उनले केही दिन अघि मात्रै धौलागिरी हिमाल पनि आरोहण गरिसकेकी छन् । पाँच हिमाल सफल आरोहण गरेकी श्रेष्ठले पाँच दिन अघि मात्रै धौलागिरी पनि सफल आरोहण गरेकी हुन् ।

                                                                                                                                                 बिजनेस म्यागजिनबाट

सोमबार २५ असोज २०७८ ०७:२५ AM मा प्रकाशित

प्रतिक्रिया