काठमाडौं । गत साता तीन दिनको घटाइलाई बिट मार्दै दुई दिनमा ११० अंकले उचालिएको सेयर बजार सूचक दसैंको मुखमा भने फेरि ओरालो लागेको छ । दसैं अघिका अन्तिम दुई कारोबारमा करिब ४२ अंकको गिरावट देखिएको छ । आइतबार १८.५० अंकले घटेको बजार सूचक सोमबार पनि २३ अंकले घटेको छ ।
योसँगै यो साता कारोबार नहुने भएको छ । मंगलबारदेखि बडादसैंको सार्वजनिक बिदा भएकाले अब बजार एकैपटक असोज महिनाको अन्तिम दिन आइतबार खुल्ने छ । यो बीचको कारोबार (खरिद बिक्री) भुक्तानी दसैं पछि मात्रै हुनेछ । यसले पनि लगानीकर्तामा खासै उत्साह जागेको थिएन । उता राम्रो लाभांशको आशमा बसेको लगानीकर्ताहरु वाणिज्य बैंक समूहको लांभाश सोचेअनुरुप नभएको भन्दै रुष्ट देखिएको छन् ।
सोमबार १३.५ प्रतिशत लाभांश घोषणा गरेको ग्लोबल आईएमईको सेयर मूल्य घटेर कारोबार भएको छ । त्यस्तै रैराङ हाइड्रो पावरले १२.६ प्रतिशतले नगद लाभांश दिने घोषणा गरेपछि उसको सेयर मूल्य पनि ८.२९ प्रतिशतले घटेको छ । महालक्ष्मी विकास बैंकको पनि सेयर मूल्य ८.७६ प्रतिशतले घटेको छ । त्यस्तै कतिपय लघुवित्त संस्थाहरुको पनि देखिएको छ ।
यसअघि कुमारी बैंकको लाभांशमा पनि लगानीकर्ताले असन्तुष्टि जनाएका थिए । नेपाल इन्फ्रास्टक्चर बैंकको अवस्था पनि उस्तै थियो । तर, राष्ट्र बैंकले नगद लाभांशको सट्टा बोनस सेयर दिन बाध्य पारेपछि सोमबार इन्फ्रास्टक्चरको करिब ५ प्रतिशतले मूल्य बढेको छ ।
सोमबार कारोबार खुल्दा ५ अंकले बढेको बजार त्यसपछि निरन्तर घट्दोक्रममा रहँदै १ बजेर ४० मिनेटमा २६१६ सम्म झरेको बजार त्यसपछि भने उकालो चढ्ने प्रयास गरेको थियो । अन्तिम १० मिनेटमा २६४३ बिन्दूसम्म पुगे पनि अन्ततः आइतबारको तुलनामा २३.१९ अंकले घटेर २६३९.३७ अंकमा रोकिएको छ ।
पछिल्लो समयमा बजार उचालिने संकेत गरे पनि पूर्ण बाउन्स ब्याक हुन भने सकेन । यद्यपि, न्यूनबिन्दुबाट २३ अंकले बजार उचालियो । कारोबार प्रवृत्ति, दसैं रौनक, कात्तिकको सुरुमै ब्याजदरमा पर्ने चापलगायतका कारणले दसैं पछि खुल्ने बजार अझ सुस्त हुन सक्छ ।
तर, ब्याजदर बढेको सूचना बैंकहरुले निकालेनन् भने केही सुधार हुने सम्भावना छ । चाडपर्वको माहोलमा लगानीकर्ताहरु सक्रिय हुँदा सेयर बजारको कारोबार पनि अन्यत्र जस्तै ओझेलमा परेको छ । विगतमा बजार बढेका बेला बाहिरिएका लगानीकर्ताहरु चाडपर्व सकेर मात्रै बजार प्रवेश गर्ने आँकलन भइरहँदा निरन्तर कारोबार रकममा भने गिरावट आइरहेको छ ।
साउन अन्तिम र भदौका सुरुवाती दिनहरुमा २० अर्बभन्दा माथिको कारोबार भइरहेकोमा पछिल्ला दिनहरुमा ५ अर्बभन्दा तलै खुम्चिएको पाइन्छ । सोमबार पनि ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन आइतबारको ४ अर्ब ४९ करोडभन्दा झण्डै १ अर्बले कमी हो ।
शतप्रतिशत नगद लाभांश घोषणा गरेको ग्लोबल आईएमई समुन्त योजना १ को भने १० प्रतिशत मूल्य बढेर सर्किट लागेर कारोबार भएकोमा अन्तिम समयमा ९.९ प्रतिशतमा खुम्चिएको छ ।
सोमबार नबिल बैंकको १७ करोड १३ लाख रुपैयाँ बरारबको सेयर किनबेच भएर सबैभन्दा बढी कारोबार गर्ने कम्पनी पुगेको छ ।