काठमाडौं । नेपाल उद्योग परिसंघले शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा ‘सिएनआई रोजगार तथा सीप मेला २०७९’ आयोजना गर्न लागेकाे छ ।
मेला आगामी कात्र्तिक १७ देखि २० गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुने परिसंघले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। सिएनआई रोजगार तथा सीप मेला २०७९ ले विभिन्न कम्पनी तथा कामको खोजीमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने आयोजकको विश्वास छ ।
यस्तै, रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल पनि हुनेछ । सिएनआई रोजगार तथा सीप मेला २०७९ बाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने अपेक्षा आयोजकको छ ।
यस्तै, सरकार तथा अन्य सरोकारवालाहरूलाई रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुको आवश्यकतामा काम हुने र नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरूको पहिचान हुने अपेक्षा गरिएको परिसंघले जनाएको छ ।
मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता, सीप विकास सम्बन्धी विभिन्न विषयमा बृहत् छलफल, सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुती र आफ्नो क्षमताअनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क/छलफल गर्न सकिने आयोजकले जनाएको छ ।
परिसंघका अनुसार तीन दिने मेलामा २०० भन्दा बढी कम्पनीहरु सहभागी हुनेछन् । कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा परिसंघको छ ।