काठमाडौं । सेयर बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने चर्चा पुनः सुरु भएको छ । नेपाल धितोपत्र बोर्डले बढ्दो सेयर कारोबारलाई बढी प्रतिस्पर्धी बनाउन निजी क्षेत्रबाट नयाँ स्टक एक्सचेन्ज सञ्चालन आवश्यक रहेको निष्कर्ष निकालेपछि यसको चर्चा सुरु भएको हो ।
बोर्डले निजी क्षेत्रमा नयाँ स्टक एक्सचेञ्जको संभावनासम्बन्धी अध्ययन गरिसकेको छ । अध्ययन गर्न बोर्डले डेपुटी कार्यकारी निर्देशक नवराज अधिकारीको संयोजकत्वमा अध्ययन समिति गठन गरेर थियो । समितिले नयाँ स्टक एक्सचेन्ज आवश्यक भएको सुझाव प्रतिवेदन दिएको छ ।
अध्ययन समितिले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन उचित रहेको ठहर गरेको छ । समितिले बोर्ड व्यवस्थापनसमक्ष अध्ययन प्रतिवेदन बुझाइसकेको छ । समितिले नयाँ स्टक एक्सचेन्ज संभाव्य रहेको (भाएबल) देखाएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।
समितिको प्रतिवेदन आएपछि यस विषयमा छलफल भइरहेको उनले जानकारी दिए । उनका अनुसार सो प्रस्ताव बोर्ड सञ्चालक समितिमा पेश गर्न भने बाँकी छ । अबको केही दिनमा नै उक्त प्रतिवेदन सञ्चालक समितिमा लैजाने तयारी बोर्डको छ ।
सञ्चालक समितिले पारित गरेपछि सहमतिका लागि अर्थ मन्त्रालय पठाइनेछ । अर्थले सहमति दिएमा नयाँ स्टक एक्सचेन्ज स्थापनाको प्रक्रिया अघि बढ्नेछ । अर्थ मन्त्रालयले सकारात्मक लिएमा नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अघि बढ्ने उनले स्पष्टपारे ।
सोही प्रतिवेदनका आधारमा अध्यक्ष भीष्मराज ढुंगाना निजी लगानीमा नयाँ स्टक एक्सचेन्ज स्थापनाको प्रक्रिया अघि बढाएका छन् । बजारलाई अझ बढी प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेञ्ज आवश्यक भएको उनको भनाइ छ । धितोपत्र बोर्डको २९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढुंगानाले नयाँ स्टक एक्सचेन्ज ल्याउन अध्ययन भएको जानकारी दिएका छन् ।
बोर्डले नयाँ स्टक एक्सचेन्ज स्थापनालाई प्राथमिकतामा राखेको उनको भनाइ छ । बोर्डले अध्ययन गरेको प्रतिवेदनले धितोपत्रको दोस्रो बजारलाई अझ बढी व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
बोर्डका निवर्तमान अध्यक्ष रेवतबहादुर कार्कीले पनि नयाँ स्टक एक्सचेन्ज आवश्यक भएको भन्दै प्रक्रिया अघि बढाएपछि बजार तातेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ कम्पनीको विरोध गर्दै आएको छ ।
सेयर बजारको आकार विस्तार भइरहेको र नेप्सेले मात्र सेयर कारोबार धान्न नसक्ने निष्कर्ष समितिको छ । पछिल्लो समयमा नेप्से परिसूचक बढेर २९०० अंक माथि पुगेको छ । यसैगरी बजारको आकार, कारोबार रकम, सर्वसाधारणको पहुँच र लगानीकर्ताको संख्या बढ्दै गएकाले पनि नयाँ स्टक एक्सचेञ्ज आवश्यक भएको समितिको ठहर छ ।
सेयर कारोबार बढेर दैनिक १८ अर्ब रुपैयाँ पुगेको छ । एउटा आईपीओमा १८ लाख लगानीकर्ता सहभागी भएका छन । डिम्याट खाता खोल्नेको संख्या दोब्बर बढेर ३५ लाख बढी भएको, मेरो सेयर सदस्य २६ लाख पुगेको र अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या १७ गुणा बढेर ६ लाख ६० हजार पुगेको अध्यक्ष ढुंगानाले बताएका छन् ।
बोर्डले पटकपटक नयाँ स्टक एक्चेन्जलाई लाइसेन्स दिने तयारी गरे पनि अर्थ मन्त्रालयले सहमति नदिएपछि रोकिंदै आएको छ ।
हाल सञ्चालनमा रहेको नेप्सेमा सरकार, नेपाल राष्ट्र बैंकलगायत सरकारी निकायको मात्र लगानी रहेको छ ।
यसअघि २०६६ सालमा डा. शूरवीर पौड्याल बोर्ड अध्यक्ष हुँदा नयाँ एक्सचेन्ज थप्न अनुमतिपत्रका लागि आवेदन आह्वान गरिएकोमा त्यतिबेला ४ कम्पनीको आवेदन परेको थियो ।
त्यसबेला अर्थ मन्त्रालयको असहमतिले प्रक्रिया अघि बढ्न सकेन । अर्थको असहमति भएमा नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया यो पटक पनि अघि नबढ्न सक्छ ।