काठमाडौं । राधाकृष्ण शर्मा, निर्माण क्षेत्रका लागि चिरपरिचित नाम हो । ६८ वर्षअघि काठमाडौंमा जागिर खानका लागि आएका राधाकृष्णले शर्मा एण्ड कम्पनीलाई नेपालको १ नम्बर निर्माण संस्थाको रुपमा स्थापित गर्न सफल भए । उनै शर्माको मंगलबार ८६ वर्षको उमेरमा निधन भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्षसमेत रहेका शर्मा महासंघले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित भइसकेका छन् । शर्मा म्याग्दीको पातलेखेत गाउँबाट काठमाडौंमा पैदलमार्फत आएका थिए । उनले सडकदेखि ठूला भवन र विभिन्न आयोजना बनाएर निर्माण क्षेत्रमा आफूलाई स्थापित गर्न सफल भए ।
विक्रम सम्वत् १९९३ सालमा जन्मिएका शर्मा थप अध्ययनका लागि काठमाडौंमा २००९ सालमा आएका थिए । साथीहरूसँगको सहकार्यमा करिब २ वर्ष ल्हासा (टिवेट) मा ट्रेडिङ बिजनेस गरेर व्यापार व्यवसायको सुरुवात गरेका शर्माले निर्माण क्षेत्रमा भने विस २०१९ तिर थकाली सुब्बा एण्ड कम्पनीसँगको सहकार्यमा त्रिशूली हाइड्रोपावर कम्पनीसम्मकाे सडक निर्माण गरेका थिए ।
यो पनि हेर्नुहोस
राधाकृष्ण शर्मा, जसले तीन पुस्तालाई निर्माणमा लगाए,७ अर्ब कारोबारको कम्पनी बनाए
तिब्बततर्फको ट्रेडिङ बिजनेसको काम छोडेर ०१९ सालदेखि ०२१ सालसम्म थकाली सुब्बासँग आबद्ध भएका थिए । साझेदारीमा मात्र काम गर्दा पछि समस्या आउने भन्दै उनले थकाली सुब्बासँग कै सहमतिमा २०२२ देखि आफ्ले कम्पनी स्थापना गरेका हुन् ।
कम्पनी स्थापना भएपछि उनले पहिलो ठेक्का हेटौंडाको औद्योगिक क्षेत्रको थियो । उनी बस्दै आएका घरबेटीकै सहयोगमा शर्माले हेटाैंडाको औद्योगिक क्षेत्रमा काम पाएका हुन् । औद्योगिक क्षेत्रभित्र रहेको पानी ट्याङकी शर्मा एण्ड कम्पनीले बनाएको हो । त्यो बेला उनले करिब ४०–५० हजार रुपैयाँसम्मको ठेक्का पाएका थिए ।
औद्योगिक क्षेत्रमा काम गरेको देखेपछि उनको कम्पनीले बालाजु औद्योगिक क्षेत्रको समेत ठेक्का पायो । उकाली ओराली पार गर्दै उनको कामले भने विस्तारै उचाइ लिइरहेको थियो । त्यहाँ काम गरिरहँदा उनको चिनजान नेपाली सेनासँग भयो । त्यो बेला सेनाले आफ्नो निर्माणको काम नगर्ने भएकाले त्यहाँका अधिकांश ठेक्काहरू उनले गर्ने मौका पाए । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले रामपुरमा गरेको सबै निर्माणको काम शर्मा एण्ड कम्पनीले नै पाएको थियो ।
काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा निर्माण भएका अधिकांश ठूला भवनहरु शर्मा एण्ड कम्पनीले नै बनाएको हो । सिंहदरबार अघिको राष्ट्रिय वाणिज्य बैंक, सिटी सेन्टर, गुठी संस्थानको भवन, स्टारमल, सेन्टरपार्क, भैंसेपाटीमा रहेको मेडिसिटी अस्पताल, वीर अस्पतालको भवनदेखि हालै सम्पन्न भएको महान्याधिवक्ताको कार्यालयसमेत शर्माकै कम्पनीले बनाएका हो ।
शर्मा एण्ड कम्पनीले अरनिको राजमार्ग अन्तर्गतको भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक स्तरोन्नति र मर्मतको काम गर्यो । उक्त सडक ०५६ सालमा स्तरोन्नति गरेको हो । २१ वर्ष भइसक्दा पनि सो क्षेत्रको सडक अझै राम्रो र मजबुत छ । यस्तै पूर्व–पश्चिम राजमार्गको अत्तरियादेखि महेन्द्रनगरसम्मको ३६ किलोमिटर सडक निर्माण शर्माले गरेका हुन ।
मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरीको चतरादेखि सिन्धुलीको भिमानसम्मको १३५ किलोमिटर सडक शर्मा एण्ड कम्पनी र लामा कन्ट्रक्सनले संयुक्त रूपमा निर्माण थालेर अन्तिम चरणमा पुगेको छ । ७ अर्ब रुपैयाँ लागतको सो सडक निर्धारित समयभित्रै सकिनेमा कोरोना भाइरसको कारण केहीपछि धकेलिएको छ ।
यति ठूलो रकम लगानीको काम पनि नेपाली कम्पनीले निर्धारित समयमै गुणस्तरीय काम गर्न सक्छन भन्ने उदाहरण शर्मा एन्ड कम्पनीले स्थापित गरेको छ ।
व्यापारिक क्षेत्र मात्र होइन राधाकृष्ण सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय थिए । म्याग्दी जिल्लामा शिक्षाको विकासका लागि स्कुलदेखि जिल्लामा रहेको एकमात्र क्याम्पस खोल्नमा उनको योगदान छ । जिल्लाको ‘म्याग्दी क्याम्पस’ को स्थापनामा उनले आर्थिक सहयोग गरेकै कारण क्याम्पसको पुस्तकालय भवन उनकै नाममा छ ।
त्यस्तै काठमाडौंमा सार्वजनिक स्कुल ‘ज्ञानोदय माध्यमिक विद्यालय’ को २५ वर्षभन्दा बढी अध्यक्षको जिम्मेवारी लिई सो स्कुललाई देशको अब्बल सरकारी स्कुल बनाएका थिए ।
साथै देवघाट, चितवनमा संस्कृत भाषाको उत्थानका लागि विभिन्न गुरुकुल स्कुल स्थापनामा समेत योगदान गरेका थिए । उनले समाजसेवा र शिक्षाको विकासमा पुर्याएको योगदानलाई कदर गर्दै थुप्रै प्रशंसापत्र र सम्मान पाएका थिए । परिवारजनप्रति हार्दिक समवेदना !