सोमबार, जेठ ३१ २०७८ १२:३९ PM

×

नेपाल एयरलाइन्सले चार्टर्ड उडानको भाडा १५ प्रतिशतसम्म घटायो

images

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनमा २० प्रतिशत मूल्य घटाएसँगै नेपाल एयरलाइन्सले पनि भाडा घटाएको छ । एयरलाइन्सका प्रवक्ता करिष्मा श्रेष्ठले चार्टर्ड उडानमा १५ प्रतिशतसम्म हवाई भाडा घटाएको जानकारी दिइन् ।

उनले वाइडबडीमा १३ प्रतिशत र न्यारोबडीमा १५ प्रतिशतसम्म भाडा घटेको जानकारी दिइन् । नियमित उडानहरु सुचारु भएपछि एयरलाइन्सका अन्य गन्तव्यहरुको भाडामा समेत सोहीअनुसार समायोजन गर्दै जाने बताइएको छ ।

एयरलाइन्सका अनुसार वाइडबडी जहाजको यसअघि प्रतिघण्टा १५ हजार ५२० अमेरिकी डलर थियो भने अब घटेर १३ हजार ४ सय ६० डलर कायम भएको छ । यसमा २ हजार ६० डलर घटेको छ ।

यस्तै न्यारोबडीमा प्रतिघण्टा ७ हजार ७ सय १० डलर रहेकोमा घटेर ६ हजार ५ सय ८० डलर कायम गरिएको छ । यसमा १ हजार १ सय ३० डलरको कम भएको छ । प्रतिशतको हिसाव गर्दा वाइडबडीमा १३ प्रतिशत र न्यारोवडिमा १५ प्रतिशत मूल्य घटेको हो ।

नेपालमा भरिने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य सर्वाधिक महँगो भई नेपाल लगायत देशहरुमा उडान सञ्चालन गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय बिमान कम्पनीहरुको तर्फबाट नेपाल वायुुुसेवा निगमले सम्वन्धित निकायमा पटक पटक आवाज उठाउँदै आएकोमा २० प्रतिशत मूल्य घटाएको भन्दै आयल निगमलाई धन्यवाद दिएको छ ।

इन्धनको मूल्य घटेसँगै अन्तर्राष्ट्रिय उडानमा रहेका एयरलाइन्सहरुको पनि हवाई भाडा घट्ने र पर्यटन उद्योगलाई नै दुरगामी प्रभाव पर्ने विश्वास नेपाल एयरलाइन्सले लिएको छ ।

    
 

सोमबार २४ जेठ २०७८ ०१:२९ PM मा प्रकाशित

प्रतिक्रिया