सोमबार, माघ ३ २०७८ ०९:०७ AM

×

हलिउडलाई सिँगार्ने आयुषको एनिमेसन, 'अमेजिङ स्पाइडर म्यान' देखि 'लाइफ अफ पाई' सम्मकाे यात्रा !

images

हलिउड एक्सन फिल्म ‘टर्मिनेटर टुः जेडमेन्ट डे’ को एउटा दृश्य । जहाँ टर्मिनेटरले धारिलो चक्कुले आफ्नै पाखुरा काटेर छाला निकाली टेरेसा र डाइसनलाई देखाउँछन् । सजीवजस्तो लाग्ने एउटा बीभत्स दृश्य । 

३० वर्षअघि टर्मिनेटर टु रिलिज भएको यो फिल्मको दृश्य हेर्दा आयुष श्रेष्ठ छक्क पर्थे । मान्छेले यी सबै काम कसरी गर्न सकेको होला ? भन्ने सोचेर उनलाई अचम्म लाग्थ्यो । यस्तै सन् १९९८ मा आएको अर्को मुभी ‘डिप इम्प्याक्ट’ मा न्युयोर्क सहरमा कोमेट झरेको, स्टाच्यु अफ लिबर्टी ढलेर पानीमा खसेको दृश्य हेरेर उनी झनै उत्साहित भए । 

मान्छेले के के गर्न सकेको होला ? उनीभित्र जिज्ञासा अंकुराउन थालेको थियो । 

कलाप्रति अधिक रुचि भएका आयुषभित्र यस्ता दृश्यले छुट्टै उत्साह थप्यो । कल्पनालाई मिहिन ढंगबाट अतिरञ्जित गरेर सजीवझैं तुल्याउने यस्ता दृश्य–चित्रप्रति बाल्यकालदेखि नै लगाव बस्न थाल्यो । 

हलिउडको पर्दा च्यातेर ‘बिहाइन्ड द सिन’ मा रहेको त्यस्तो दृश्यचित्र बनाउने जगत् चियाउने रहर उनलाई भयो । 

तर, ९० र २००० को दशकको सुरुवातीतिर कलिउडका सबैजसो तथा बलिउडका अधिकांश चलचित्र कथावस्तुभित्रै रुमल्लिएका थिए । क्यामेरा एंगलमा खेल्न बाहेक ग्राफिक्स, एनिमेसन तथा भिजुअल इफेक्टबारे खासै कसैलाई वास्ता नै थिएन । यस्तै हलिउडसम्म आफूलाई पुर्याउने वा जोड्ने माध्यम टाढासम्म कहीँ कतै थिएन ।

धरानमा ढाका व्यापार गर्ने मध्यम वर्गीय नेवारी परिवारका आयुषबाट उनका बुवाले प्रवेशीका परिक्षापछि कमर्स पढेर पारिवारिक व्यवसाय सम्हालोस् भन्ने अपेक्षा राखेका थिए । तर, उनले त्यसो गरेनन् । गरे त विद्रोह गरे । 

‘म कलाप्रेमी मान्छे व्यवसाय गर्न जन्मिएकै होइन । व्यवसायले मलाई निरर्थक बनाउँछ भन्ने विश्वास थियो’ आयुष भन्छन्, ‘मैले यही कुरा बुवाआमालाई भन्दै कमर्स पढ्ने भए पढ्दिनँ भनें ।’

बुवाआमाको अनुमति लिएर आयुष साइन्स नै पढ्न थाले । १२ सकेर उनी काठमाडौं आए । एक वर्षसम्म त एमबीबीएसको तयारीमा बितिगयो । पछि एमबीबीएसबाट बाटो मोडेर कान्तिपुर इन्जिनियरिङ कलेजको कम्प्युटर इन्जिनियरिङ संकायमा भर्ना भए । 

यन्त्र–प्रविधि आयुषको रोजाइ थिएन । यसैले इन्जिनियरिङ अध्ययनताका बेलुकाको समय उनी ह्वाइटप्लस प्रोडक्सनका भिडिया इडिटिङ गर्थे । त्यति बेला अविनाश घिसिङको चर्चित गीत ‘सुनको बाला’ मा भिडियो इडिटिङको काम उनैले गरेका थिए । उक्त गीत इमेज च्यानलको म्युजिक अवार्डका लागि मनोनयनमा परेपछि त्यसले आयुषलाई थप हौसला दिलायो । 

ग्राफिक्स, भिजुअल इफेक्ट सिक्ने चाहाना झन् बढ्यो । तर, सन् २००० को सुरुवाततिर सिक्नका लागि अहिलेको जस्तो इन्टरनेटमा पर्याप्त सामग्रीहरु थिएनन् । ‘अहिलेजस्तो युट्युबमा प्रशस्त ट्युटरल र सफ्टवेयर थिएनन् । अहिले त के कुरा कसरी बनायो ‘बिहाइन्ड द सिन’ सबै कुरा युट्युबमै हुन्छन्’ उनी भन्छन् । 

भिजुअल इफेक्ट सिक्न, सफ्टवेयर र प्रोडक्सन प्रोसेसका भिडियोका लागि उनी सधैं महाबौद्ध जान्थे । 

‘म सफ्टवेयरका लागि महाबौद्ध गइरहन्थें । कुनै सफ्टवेयर चाहिएको छ र ल्याइदिनुहोस् भन्यो भने उनीहरुलाई सफ्टवेयरको ज्ञान नै हुन्नथ्यो । खासा (तिब्बत) मा किलोको हिसाबले सफ्टवेयर किन्छौं । यदि तिम्रो भाग्यमा रहेछ भने तिमीले खोजेको सफ्टवेयर पर्छ भनेर उनीहरु जवाफ दिन्थे’ यो कुरा सुनाउँदै आयुष हाँस्छन् ।

इन्जिनियरिङ सकेपछि सबै सहपाठी प्रोग्रामिङ, कोडिङ गर्दै विभिन्न आईटी कम्पनीमा जान थाले । तर, कलाक्षेत्रको आफ्नो रुचिलाई पछ्याउँदै उनले अमेरिकाको ‘एकेडेमी अफ आर्ट्स युनिभर्सिटी’ सन फ्रान्सिस्कोमा स्टडी भिजाका लागि आवेदन दिए । तीनपटकसम्म लगातार रद्द भएको आवेदन चौंथो पटकमा स्वीकृत भयो । 

२००७ मा आयुष अमेरिका पुगे । र, एकेमेडी अफ आर्ट्स युनिभर्सिटी सन फ्रान्सिस्कोमा मास्टर्समा भर्ना भए । 

सन फ्रान्सिस्को आफैंमा महँगो ठाउँ । त्यसमाथि पढाई खर्च पनि उस्तै महँगो । फी तिर्न ढिला भए कलेजले निष्कासित गर्ला भन्ने डर थियो । अमेरिकामा उनका सुरुवाती दिन उतारचढापूर्ण थिए । नेपालमा ग्राफिक्समा काम गरेका हुनाले बाहिर पनि उनले फ्रिलान्सिङमा काम गर्न पाए । त्यसबाहेक उनले होटलमा समेत काम गर्नुपथ्र्यो । कामकै कारण पढाइका लागि पर्याप्त समय मिल्दैनथ्यो । 

‘तीन सेमेस्टरसम्म त मलाई कसैले चिन्दैनथे । ल्याब कता थियो भन्ने पनि मलाई थाहा थिएन’ उनी ती दिन सुनाउँछन्, ‘म तीन घण्टाको क्लास सकेर सरासर काममा फर्किहाल्थें । दैनिक रुटिन एकदमै रसमा चल्थ्यो ।’ 

‘म बसेको ठाउँबाट कलेज पुग्न ट्रेनमा एक घण्टाको यात्रा गर्नुपर्थ्याे । होमवर्क गर्ने, पढ्ने काम सबै आउँदा–जाँदा ट्रेनमै गर्थें' एकैछिनमा गम्भीर बन्छन्, अरु बिहान ८ बजेदेखि बेलुका २ बजेसम्म ल्याबमा बसेर पढ्ने, अभ्यास गर्ने गर्थे । एउटा सटमा घण्टौं; कहिलेकाहीँ दुई–तीनदिनसम्म पनि अभ्यास गर्नुपर्थ्याे । तर, आफूसँग समय नभएको र साथीहरुले आरामले पढेको देख्दा निकै चित्त पनि दुख्थ्यो ।’ 

३ वर्षपछि आयुषले ‘एनिमेसन एन्ड भिजुअल इफेक्ट्स’ मा मास्टर्स सके । त्यसपछिको यात्रा अझ कठिन बन्दै थियो । 

पढाइपछि करियर सुरु गर्नु थियो । शैक्षिक योग्यता मात्र भएर हुँदैनथ्यो । अमेरिकामा मोसन पिक्सर्च, आर्ट्स क्रियसनको क्षेत्र एकदमै प्रतिस्पर्धात्मक छ । एउटा पोस्ट खुल्यो कि आवेदन दिने सयौं हुन्छन् । छिर्नै गाह्रो ! प्रतिस्पर्धीको भीडमा आफू नयाँ हुँदा २५ वर्षसम्म अनुभव भएका आवेदकसँग समेत प्रतिस्पर्धा गर्नु परेको उनको तीतो तर रोमाञ्चक अनुभव छ । 

मास्टर्स सकेको एक वर्षसम्म त रिल बनाउँदै, अप्लाई गर्दै र रिजेक्ट हुँदैमा बित्यो । 

‘विदेशमा यहाँ जस्तो बायोडाटाले मात्र पुग्दैन । आफूले गरेका कामको छोटो एक–दुई मिनेटको भिडियो अर्थात् रिल बनाएर बुझाउनुपर्छ । त्यसलाई हेरेर उनीहरुले कन्सिडर गर्छन्’ उनी थप्छन्, ‘रिल जति नै राम्रो बनाए पनि हेर्ने भनेको ५/६ सेकेन्ड मात्रै हो । यसैले भाग्य, समय सबैले साथ दिनुपर्छ । कडा मेहेनतले मात्रै पनि हुँदैन ।’

२०१२ को कुरा । उनले सोनी पिक्चर्स इन्टरटेन्मेन्टमा आवेदन दिएका थिए । अन्तर्वार्ताका लागि सोनीका निर्देशक आएका थिए । निर्देशकले आयुषलाई ‘तिमी के–का लागि अन्तरवार्ता दिन आएको थाहा छ ?’ भनेर सोधे । 

उनलाई केही थाहा थिएन यसैले प्रत्युत्तरमा त्यही बताए । 

निर्देशकले उनलाई ‘अमेजिङ स्पाइडरम्यान टु’ का लागि अन्तरवार्ता भइरहेको अवगत गराए । अनि उनको खुसीको सीमा नै रहेन । 

‘अमेजिङ स्पाइडरम्यान टु’ का लागि अन्तरवार्ता दिन पाउनु भनेको सामान्य कुरा थिएन । म त सुन्नेबित्तिकै दंग परें’ सगर्व सुनाउँछन् । 
सयौंले आवेदन दिएको पोस्टमा उत्कृष्ट ५० भित्र परेर उनले अन्तर्वार्ता दिन पाएका थिए । 

सोनी टिमले आयुषको रिल मन पराएको प्रतिक्रिया दियो । तर, ३ महिनाको प्रोजेक्ट भएका कारण सोनीलाई अनुभवी मान्छे चाहिएको थियो । यसो हुँदा उनी उक्त प्राजेक्टमा संलग्न हुन पाएनन् । यद्यपि सोनीले उनी भित्रको बलियो सम्भावनालाई देखेर केही समय अझै प्रयास गर्न सल्लाह दियो । यस्तो सकारात्मक प्रतिक्रियाले कसलाई खुसी नदेला र ! 

‘मेहेनत गरेपछि हुने रहेछ भन्ने हिम्मत थपियो । अनुभव बटुल्न भए पनि इन्टर्न गर्नुपर्छ भन्ने लाग्यो’ त्यति बेला उनीभित्र जागेको आशालाई व्याख्या गर्छन्, ‘एकैपटक ठूलो ताक्दा अनुभव खोज्ने रहेछ । अतः बरु सानैबाट सुरु गर्छु भन्ने लाग्यो ।’

त्यस बेला ‘वाटर सिमुलेसन’ मा काम गर्ने कम्पनी फ्युजन सीआईले पनि इन्टर्न खुलाएको थियो । पानीको भिजुअल इफेक्टमा मात्र काम गर्ने त्यस कम्पनीमा आयुषले इन्टर्नका लागि आवेदन दिए । र, स्वीकृत पनि भए ।  

‘त्यो कम्पनी रियल फ्लो भन्ने एउटा सफ्टवेयरमा काम गर्थ्याे । त्यसबारे मैले पढेको थिइनँ । उनीहरूले मेरो रिल त मन पराए तर त्यसमा रियल फ्लो नभएका कारण एउटा सिमुलेसन गरेर देखाउन भन्यो’ उनी भन्छन्, ‘एउटा प्लेन पानीमा क्र्यास भएको सिन बनाउन भनेर उनीहरुले भनेका थिए । सिमुलेसन मात्र देखाए पुग्छ भनेका थिए । मैले त्यो रातभर रियल फ्लोको ट्युटरल पढें । अनि एउटा प्लेन पानीमा क्र्यास भएर पानी स्प्ल्यास भएको सिमुलेसन बनाए ।’

त्यो सिन पर्फेक्ट त थिएन तर त्यो देखेर आयुषले केही गर्न सक्छ भन्ने विश्वास उनीहरूलाई भयो । 

कम्पनीले एबीसी च्यानलमा प्रशारण हुने ‘वान्स अपन अ टाइम’ सिरिजको एउटा एपिसोड स्ट्रेन्जर्सभित्र रहेको पानीको सिनमा काम गरिरहेको थियो । यसैले जानेबित्तिकै उनले पनि उक्त सिनमा काम गर्न पाए । 

पछि त्यो एपिसोड नै ‘एमिनोमिनेसन’ मा नोमिनेट भयो । जुन आफैंमा टेलिभिजनहरूको ओस्कार मानिन्छ । आफ्नो नाम नआए पनि आफ्नो कामले पहिचान पाउँदा एउटा नवोदित कलाकारमा छुट्टै ऊर्जा थपियो ।

३ वर्षको पढाइ सकेर आयुष ओपीटी (अप्सनल प्राक्टिकल ट्रेनिङ) मा  काम गर्दै थिए । तर, उनी अझै स्टडी भिजामै थिए ।  काम गर्न वर्किङ भिजा चाहिएको थियो । यस्तो भिजा सबै कम्पनीले दिन्नथे ।

त्यसै बेला रिदम एन्ड ह्युस स्टुडियो इरफान खानको चर्चित फिल्म ‘लाइफ अफ पाई’ मा काम गर्दै थियो । उनले लाइफ अफ पाईमा काम गर्न आवेदन दिए । फिल्मका सबैजसो सिनहरू पानीमै थिए । उनले पनि वाटर सिमुलेसनको काम गरेको हुँदा कम्पनीले आवेदन स्वीकार गर्दै उनलाई राख्न तयार भयो । जब उनको वर्किङ भिजा नभएको कम्पनीले थाहा पायो, उक्त फिल्म अल्पकालीन परियोजना भन्दै कम्पनीले उनलाई वर्किङ भिजा दिएन । विडम्बना ! लाइफ अफ पाईको प्राजेक्ट उनको मुखैमा आएर फुत्कियो । 

भाग्य भन्ने चिज कति धेरै संवेदनशील हुने रहेछ भन्ने त्यति बेला थाहा पाए । पछि लाइफ अफ पाईले ओस्कार अवार्डका लागि मनोनयन भई विभिन्न विधामा ओस्कार अवार्डसमेत जित्यो । त्यो एउटा ठूलो अवसरबाट आयुष विमुख हुनुपर्यो । तर, गति रोकिएन । 

सोही वर्ष आयुष निकलोडियनमा एफएक्स आर्टिस्टको रूपमा नियुक्त भए । त्यहाँ उनले दुई वर्षसम्म काम गरे । निकलोडियनबाट निस्किएर २०१४ मा उनी अमेरिकी एनिमेसन स्टुडियो ड्रिमवर्क्समा गए । हालसम्म उनी त्यहीँ छन् । एफएक्स डिपार्टमेन्टभित्र उनी ‘स्पेसल इफेक्ट’ हरुमाथि काम गर्छन् । 

‘नेपालमा एनिमेसन, भिजुअल इफेक्ट सबैको काम एउटै डिपार्टमेन्टले गर्छ । तर, हलिउडमा त्यस्तो हुन्न । स–सानो कामका लागि पनि विशेष टिम वा डिपार्टमेन्ट हुन्छन् ।’ 

आफ्नो कामबारे आयुष सुनाउँछन्, ‘म यहाँ भिजुअल इफेक्टअन्तर्गत स्पेसल इफेक्टमा काम गर्छु । यसमा पानी, आगो कसरी बनाउने, बमहरु बिस्फोटको दृश्य देखाउने, ज्वालामुखी फुट्दा निस्कने लाभा, धुलो, एक्सनको सिनमा भित्ता फोर्दा देखिने दृश्य आदिमा केन्द्रित भएर काम गर्छु ।’

निकलोडियनमा हुँदा उनले ‘मोन्सटर्स भर्सेस एलियन’ मा काम गरे । यस्तै ड्रिमवर्क्समा आएपछि ‘किङ जुलियन’, ‘डाइनोट्रक्स’ र ‘स्प्रिट’ जस्ता सिरिजमा काम गरिसकेका छन् । यी तीनवटै सिरिज अहिले पनि नेटफ्क्सिमा हेर्न सकिन्छ । अहिले उनी ड्रिमवक्र्समा ‘ड्राइगन दी नाइन र्याम्स’ नामक नयाँ सिरिजमा काम गरिरहेका छन् । यो सिरिज यसै डिसेम्बर १५ देखि स्ट्रिमिङ प्लेटफर्म हुलुमा सार्वजनिक भएको छ । 

यी सम्पूर्ण हलिउड टिभी सिरिज हुन् । सपनाहरु बिस्तारै पूरा हुँदैछन् । अब उनको धोका भनेको हलिउडका फिचर फिल्ममा काम गर्ने हो । तर, स्थायित्वका हिसाबले फिचर फिल्मभन्दा टेलिभिजनमै करियर सुनिश्चित हुने भएकोले अझै ४, ५ वर्ष टेलिभिजनमै बस्ने उनको योजना छ । 
‘फिल्ममा छोटा प्रोजेक्ट मात्र हुन्छन् । एक÷डेढ वर्षमा एउटा प्रोजेक्ट सकिन्छ । त्यसपछि अर्को खोज्नुपर्छ । टिभीमा भने एउटै सिरिजमा धेरै सिजन र एपिसोड हुन्छन् । त्यो सकिए पनि नयाँ प्रोजेक्ट पाइपलाइनमै हुन्छ । टिभीमा अलिक स्टेबल हुन्छ तर फिचर फिल्ममा फ्रिलान्सिङजस्तै हो । काम नपाउँदा ठाउँ पनि सिफ्ट गरिरहनुपर्छ ।’ 

फिचर फिल्ममा एउटा सर्टमा काम गर्न महिनौं समय लाग्छ । तर, टिभी सिरिज छिटोछिटो आउने हुनाले काम पनि छिटै गर्नुपर्ने र यसले गुणस्तरीयतामा पनि प्रभाव पार्ने उनको भनाइ छ । 

‘एभेन्र्स इन्डगेमजस्तो फिल्मको एउटै सटका लागि ५/६ महिनासम्म काम हुन्छ । यसैले टिभी र फिचर फिल्मको गुणस्तरीयतामा पनि फरक पर्छ ।’
अहिले उनी ड्रिमवर्क एनिमेसनको एफएक्स डिपार्टमेन्ट प्रमुख हुन् । उनले ताइवान र भारतमा रहेका एफएक्स डिपार्टमेन्टको समेत नेतृत्व सम्हाल्छन् ।

‘अहिले म स्पेसल इफेक्टमा काम गर्नेबाहेक सिंगो एफएक्स डिपार्टमेन्ट सम्हाल्छु । प्रत्येक दिन एफएक्स आर्टिस्टलाई काम दिने, रिग दिने र त्यसलाई रेन्डर गरेर आउन भन्छु । उनीहरुले त्यो गर्छन् । यस्तै गरेको कामको प्राविधिक त्रुटि चेक गरेर कामलाई सदर गर्छु ।’
केही सिक्न मन छ भने आफूलाई सधै ‘बिगिनर्स’ को रुपमा हेर्नुपर्ने आयुष बताउँछन् । 

आफ्नो रmचिकै क्षेत्रमा संलग्न भए पनि भिजुअल इफेक्टको काम गर्दा ढुक्क साथ बस्न नपाइने उनी बताउँछन् । प्रविधि छिटो परिवर्तन हुने हुँदा नयाँ–नयाँ चुनौती र अप्ठ्याराहरु आउँछन् । र, आफूलाई त्यसैमा अपडेट गर्दै लग्नुपर्छ ।  

‘मैले पाँच वर्षअघि जुन टूल प्रयोग गर्थें, आज मेरो कम्पनीले त्यो प्रयोग गर्दैन । सुरm गर्दा मैले थ्रिडीम्याक्स प्रयोग गर्थें । त्यो आज पुरानो भइसक्यो । माया भन्ने अर्को टूल प्रयोग हुन्थ्यो । अहिले त्यो कताकति मात्र प्रयोग हुन्छ । सबैतिर हुडिनी सफ्टवेयर नै प्रयोग हुन्छ । नयाँ प्रविधिसँग प्रत्येक दिन आफूलाई अपडेट राख्नुपर्छ । सधैं सिक्नु र पढ्नुपर्छ ’ उनी भन्छन् । 

इन्जिनियरिङको प्राविधिक पृष्ठभूमिले पनि उनलाई सहयोग पुगेको सुनाउँछन् । 

‘इन्जिनियरिङ गर्दा सी प्लस, पाइथनजस्ता प्रोग्रामिङ ल्यांवेज पढेका कारण फाइदाचाहिँ भएको छ । कहिलेकाही“ प्रोग्रामिङ पनि गर्नुपर्छ । रिगहरु बनाउनुपर्छ । एउटा रिग बनायो भने हरेक सटमा रिग बनाउनु पर्दैन । केही एट्रिब्युट परिवर्तन गरेपछि काम हुन्छ ।’

हलिउडको मायावी पर्दा च्यातेर ‘बिहाइन्ड द सिन’ मा पुग्ने आयुषको सपना बिस्तारै पूरा हुँदैछ । तर, सिक्ने शृंखला कहिल्यै अन्त्य नहुने उनको बुझाइ छ ।

मार्भलका हरेक मुभीको भिजुअल इफेक्टहरु उनलाई दमदार लाग्छन् । कतिपय फिल्म त कथा झुर भए पनि भिजुअल इफेक्टकै लागि हेर्छन् ।  ‘डे आफ्टर टुमरो’, ‘२०१२’ जस्ता फिल्मका भिजुअल इफेक्ट उनलाई बढी मन पर्छन् ।

कथा फिल्मको शरीर हो भने भिजुअल इफेक्ट आलंकारिक आभूषण हो । दृश्यचित्रमा प्रयोग हुने रंग र भिजुअल इफेक्टले दर्शकलाई कथासँग अझ गहिरोसँग बाँध्न सहयोग गर्ने उनको भनाइ छ । नेपाली फिल्ममा हलिउडमा जस्तो भिजुअल इफेक्टमा खर्चेर लगानी उठाउने वातावरण छैन । तर, पनि ग्रिन स्क्रिन प्रयोग गरी ससाना भिजुअल इफेक्टका काम हुने गरेको उनले पाएका छन् । यस्तै नेपाली फिल्ममेकरसँग पनि आफू जोडिएको उनले सुनाए, ‘नेपालमा पनि धेरै सम्भावना बोकेका राम्रा फिल्म मेकरहरु छन् ।’

नेपाली फिल्मलाई कसरी बाहिर लग्न सकिन्छ भन्ने योजनामा विचार–विमर्श पनि गरिरहेको उनले बताए । 

भर्खरै ‘फोर्टिन पिक्स’ नेटफ्लिक्समा रिलिज भएका कारण नेपाली फिल्मलाई अन्तराष्ट्र्रिय बजारमा पुग्न बाटो खोलिदिएको उनको विश्वास छ । 
नेपालजस्तो तेस्रो विश्वका मुलुकका लागि हलिउड सहजै प्राप्त हुने सपना होइन । तर, सपना देखेर निरन्तर त्यसलार्ई पछ्याउनेका लागि केही कुरा पनि असम्भव छैन । 

आयुषसँगै इन्जिनियरिङ पढेका साथीहरु आज माइक्रोसफ्ट, गुगल कम्पनीमा काम गरी लाखौं डलर कमाउँछन् । आफ्नो सपनालाई पछ्याउने क्रममा उनले पैसाको बाटो कहिल्यै हेरेनन् । 

‘इन्जिनियरिङमै मास्टर्स गरेको थिएँ भने सायद आज कुनै आईटी कम्पनीमा हुने थिएँ । कला क्षेत्रमा आईटी सेक्टरमा जस्तो धेरै कमाइ त हुँदैन । यद्यपि जति कमाएको छु धेरै कमाएको छु । र, यसैमा खुसी पनि छु ।’ 

आयुषको अबको सपना भनेको फिचर फिल्ममा काम गर्ने छ । तर, मिहिनेत, भाग्य, र समयको सही संयोगले मात्रै मान्छेलाई उसको सपनासम्म पुर्याउने विश्वास उनको छ ।  
-क्यापिटल बिजनेस म्यागेजिनबाट ।

शुक्रबार​ २३ पुस २०७८ ११:०७ AM मा प्रकाशित

प्रतिक्रिया