बुधबार, साउन १३ २०७८ ०८:५७ AM

×

मुक्तिनाथ विकास बैंकका अध्यक्ष ढकालको कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा

images

काठमाडौं । मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालको कम्पनी मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई सरकारले कालोसूचीमा राखेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को गहुँ सिजनका लागि कृषि सामग्री कम्पनी लिमिटेडले टेन्डर आह्वान गरेकोमा ढकालको कम्पनी मुक्तिनाथले २५ हजार टन युरिया र २५ हजार टन डिएपी आपूर्ति गर्ने ठेक्का पाएको थियो ।

तर, सो कम्पनीले समयमै मल ल्याउन नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राख्न सिफासिर गरेको थियो । सोही अनुरुप कार्यालयले दुई वर्षका लागि कालोसूचीमा राखेको हो । 

ठेक्का सम्झौता भएपछि आपूर्तिकर्ताले प्रतीतपत्र (एलसी) खोल्ने र एलसी खोलेको ५७ दिनभित्र कुन देशबाट मल ल्याउने हो, त्यो देशबाट नेपालका लागि मल जहाजमा लोड भएको (सिपमेन्ट) आधिकारिक कागजात पेस गर्नुपर्ने व्यवस्था छ ।

तोकिएको समय घर्किएको र थप समयभित्रसमेत मल ल्याउन नसक्ने मुक्तिनाथलाई कालोसूचीमा राखेको हो । अब दुई वर्षसम्म उसले कुनै पनि सरकारी ठेक्कामा सहभागिता जनाउन पाउँदैन । 

मुक्तिनाथले युरिया प्रतिटन ३१७.१७ डलर र डिएपी ३९८.७९ डलर प्रतिटनका दरले आपूर्ति गर्ने गरी टेन्डर हात पारेको थियो । सम्झौताअनुसार मल ल्याउन नसकेपछि करिब ११ करोड रुपैयाँ बराबरको धरौटी जफत गरिएको छ । 

मङ्गलबार २२ असार २०७८ ०२:३० PM मा प्रकाशित

प्रतिक्रिया