काठमाडौं । सेयर बजारका लगानीकर्ता बैंकतिर आकर्षित भएको देखिएको छ । बैंकिङ समूहमा निकै लामो समयदेखि सुस्तता आएको थियो । तर, बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासमा आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने समय नजिकिएसँगै बैंकिङ क्षेत्र उचालिन थालेको लगानीकर्ताले बताएका छन् ।
एकातिर जलविद्युत्, इन्स्योरेन्सतिर भएका लगानीकर्ता सुरक्षित क्षेत्र प्रवेश गर्दा पनि बैंकिङ समूह उचालिएको देखिन्छ । केही समयअघिसम्म वर्षौसम्म आफ्नो वित्तीय विवरणसमेत सार्वजनिक गर्न नसक्ने जलविद्युत् क्षेत्रतिर लगानीकर्ता झुम्मिएका थिए । तर, पछि जलविद्युतकाे वास्तविक अवस्था बाहिर आएपछि धेरै जस्तो लगानीकर्ता बैंकिङतिर आएको देखिन्छ ।
साना तथा ठूला र बुझेका र नबुझेका लगानीकर्तासमेत बैंकको सेयर किन्न लालायित हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार पनि नयाँ रेकर्ड बनाएको नेप्सले साताको पहिलो दिन आइतबार पनि नयाँ कीर्तिमान बनाएको हो ।
बैकिङ बाहेक अन्य सबै उपसमूह घट्दा पनि बजार ५० अंक बढेर २९०६ माथि उक्लिएको छ । त्यसैगरी कारोबारले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार १७ अर्ब २७ करोड रुपैयाँबराबरको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर किनबेच भएको छ । यसअघि जेठ १६ गते आइतबार १७ अर्ब २ कराेड रूपैयाँ बराबरकाे सेयर किनबेच भएकाे थियाे । कतिपय बैंकले आफूसँग भएको सेयर बेच्ने तयारी गरेको सूचना बाहिरिएपछि पनि बैंक उचालिएको हुनसक्ने देखिन्छ ।
बैंकले सेयर बेच्ने बित्तिकै आम्दानी बढ्ने र राम्रो प्रतिफल आउने देखेपछि हाइड्रो बेचेर भए पनि लगानीकर्ताले बैंकको सेयर किन्न थालेको देखिन्छ । खासगरी, वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण राम्रो रहेको देखिन्छ ।
कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र जीवन बिमा समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, अन्य, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ ।