सोमबार, जेठ ३१ २०७८ ११:२७ AM

×

नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा कोरोनाबाट बच्न सचेतना अभियान सञ्चालन

images

काठमाडौं । प्राध्यापक डा. जगदीशप्रसाद अग्रवालले कोरोनाबाट बच्न मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य रूपमा कायम गर्नुपर्ने बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले कोभिड–१९ बाट बच्न तथा बचाउन सुरु गरेको सचेतना अभियानमा प्रा.डा. अग्रवालले सो कुरा बताएका हुन् । 

महासंघले अभियानको पहिलो चरणअन्तर्गत आइतबार अग्रवालको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा देशभरका झण्डै ३ सय व्यवसायी सहभागी भएको महासंघले जनाएको छ । कार्यक्रममा प्रा.डा. अग्रवालले अहिलेको अवस्थामा आफ्नो सुरक्षा आफैं गर्न अग्रसर हुनुपर्ने बताए । 

उनले रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित र अनुशासित रूपमा अभ्यास गर्ने तथा सकारात्मक सोच राख्ने, पर्याप्त सुत्ने, रम्ने रमाउने गर्न आग्रह गरेका छन् । साथै कोरोनाको कारण मृत्युदर विश्वमा २ प्रतिशतभन्दा बढी रहे पनि नेपालमा त्योभन्दा कम रहेको उनले बताए । 

कोरोना संक्रमण भए पनि नआत्तिन अग्रवालको सुझाव छ । साथै निको भए पनि समय–समयमा चेक जाँच गर्दा राम्रो हुने उनको भनाइ छ । 
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले कोरोनाबाट बच्न भ्याक्सिन अपरिहार्य रहेकाले यथाशीघ्र भ्याक्सिनको व्यवस्था हुुनुपर्ने बताएका छन् । स्वस्थ शरीर नै मानिसको शक्ति हो भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन भएको थियो ।
 

आइतबार​ २३ जेठ २०७८ १०:०८ PM मा प्रकाशित

प्रतिक्रिया