×

क्यानडा पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने छिरिङ शेर्पा पक्राउ

images

काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसेका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

क्यानडामा दुई लाख बढी तलब हुन्छ भनी प्रलोभनमा पारेर एक व्यक्तिको ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खोजतलासमा खटिएको टोलीले गोकर्णेश्वरको अत्तरखेलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ । 

यसैबीच भारतबाट भन्सार छलि ल्याएको विभिन्न कम्पनीको मोबाइलसहित काठमाडौं गौशाला बस्ने भारतको पञ्जावस्थित जालन्धर घर भएका ३५ वर्षीय सन्दीप अहुजालाई आज प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट गौशालास्थित होटेल कल्चर इनको कोठा नम्बर २०३ मा भन्सार छलेर ल्याइएको १२ थान मोबाइल बरामद गरिएको छ । 

त्यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने बागलुङका ४६ वर्षीय जायश्वर घिमिरेलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र रु १४ लाख जरिवानाको सजाय ठहर गरेको थियो । 

त्यसपछि फरार रहेका उनलाई केन्द्रीय अनुस्न्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

शुक्रबार​ २० साउन २०७९ ०९:१७ PM मा प्रकाशित

प्रतिक्रिया