सोमबार, जेठ ३१ २०७८ ११:३९ AM

×

एक वर्षदेखि भन्सारमै रोकिएका विद्युतीय गाडी भित्रिन थाले

images

काठमाडौं । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीमा अत्यधिक कर बढाएपछि भन्सार पारी रोकिएका सवारी साधन अहिले धमाधम नेपाल भित्रिन थालेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी साधनमा भारी मात्रामा भन्सार घटाउनुका साथै अन्तःशुल्क खारेज गरेपछि एक वर्षदेखि रोकिएका गाडी नेपाल भित्रिन थालेका हुन् । 

तत्कालीन अर्थमन्त्री खतिवडाले विद्युतीय गाडीको भन्सार वृद्धि गरेपछि ठूलो परिमाणमा भन्सार पारी आइपुगेका कियाका विद्युतीय सवारी साधनको भन्सार पास हुन सकेको थिएन । त्यसबेला भन्सार तिरेर ल्याउँदा गाडी बेच्नै नसक्ने देखिएपछि आयातकर्ताले डिटेन्सन तिरेर वीरगन्ज सुक्खा बन्दरगाहमै राखेको थियो । 

तर, खतिवडाले गरेको गल्तीलाई अर्थमन्त्री पौडेलले सुधार गरेपछि धमाधम गत वर्ष आएका गाडीहरुको भन्सार पास गराउने कार्य सुरु भएको वीरगन्ज सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयले जनाएको छ । 

यो पनि हेर्नुहोस 
विद्युतीय गाडीको भन्सार ४० प्रतिशतमा झारियो

भन्सार वृद्धि भएपछि किया, हुन्डाइको कोनाका विद्युतीय गाडी सुक्खा बन्दरगाहमै थन्किएका थिए । कोनाको तुलना ठूलो परिमाणका कियाका विद्युतीय गाडी सुक्खा बन्दरगाहमै थिए । 

गत वर्षका लागि निर्धारण भएको भन्सार तथा अन्तशुल्क तिरेर गाडी ल्याउँदा डुब्नेभन्दा भन्सार नतिरी सुक्खा बन्दरगाहमै थन्क्याउँदा नोक्सान कम हुने भएपछि एउटा गाडी भित्र्याइएको थिएन । 

सुक्खा बन्दरगाह कार्यालयका अनुसार टेस्ला, अउडी, ज्यागुअर, कियालगायत प्रिमियम ब्रान्डका करोडभन्दा बढी मूल्य पर्ने दर्जनौं बिलासी कार बन्दरगाहमा अलपत्र थिए ।

यो पनि हेर्नुहोस 
विद्युतीय गाडीको अन्तःशुल्क हट्यो, भन्सार पनि घटाइयो

तत्कालीन अर्थमन्त्री डा. खतिवडाले विद्युतीय गाडीमा पनि चर्को कर लगाएपछि पछिल्लो समय त्यस्ता गाडीको बिक्री नगन्य छ । बिक्री नभएपछि बिक्रेताहरुले आयात गरेका गाडी एक वर्षदेखि भन्सारमै अलपत्र रहेका थिए ।

बन्दरगाहमा एक सय कियाका हाराहारी कार अलपत्र थिए । सोही विद्युतीय गाडी छुटाउन थालिएको कार्यालयले जनाएको छ ।  

शुक्रबार​ २१ जेठ २०७८ १०:४६ AM मा प्रकाशित

प्रतिक्रिया