काठमाडौं । सरकारले तोकेको भन्सार दरमा सामान छुटाउन पनि घूस खुवाउनु परेको व्यापारीले बताएका छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री बनेर आएपछि तोकिएकै भन्सार दरमा सामान छुटाउन घूस खुवाउनुपर्ने अवस्था आएको बताएका छन् ।
‘जति सामानको जुन दरमा भन्सार लाग्छ, त्यतिबराबर घूस दिएर व्यापारीले सामान छुटाउने गरेका छन्’, एक आयातकर्ता व्यापारीले भने, ‘यदि व्यापारीले तोकिएकै भन्सार दर तिरेर सामान छुटाउन प्रयास गर्यो भने भन्सार जाँचकीले बढी भन्सार दर लगाइदिन्छ । यदि कुनै सामानको ५ लाख रुपैयाँ राजस्व तिर्नुपर्छ भने पाँच लाख रुपैयाँ नै घूस दिनुपर्छ । नत्र अर्कै दरमा सामानको मूल्यांकन गरी १५ लाख तिर्नुपर्ने बनाउँछन् । त्योभन्दा बरु ५ लाख राजस्व बुझाएर त्यति नै रकम घूस दिएर सामान छुटाउने खेल चलिरहेको छ ।’
ती व्यापारीका अनुसार सामान भन्सारमा आइपुगेको तीन दिनपछि मात्रै सामान छुट्छ । त्यो तीन दिन भनेको कर्मचारीलाई बार्गेनिङ गर्ने समय हो । तोकिएको भन्सार दरमा सामान छुटाउने हो भने जति राजस्व तिर्नुपर्छ सोहीबराबर हामीलाई पनि दिनुपर्छ भन्ने बार्गेनिङ सुरु हुन्छ । यदि त्यति रकम नदिने हो भने अर्को दरमा मूल्यांकन हुन्छ भनेर कर्मचारीले तर्साउने गरेका छन् । र, कतिपयलाई अन्य दरमा मूल्यांकन गरेर तिराएका पनि छन् ।
जनार्दन शर्माले अर्थमन्त्रालयको नेतृत्व सम्हालेपछि पनि यस्तो विकृति झन् मौलाएको व्यापारीहरू बताउँछन् । अर्थमन्त्री शर्माले नारायणप्रसाद सापकोटालाई भन्सार प्रमुख बनाएपछि देशैभरका भन्सार कार्यालयका अधिकृत तथा जाँचकीको मनोबल उच्च भएको व्यापारीहरूकाे भनाइ छ ।
‘कर्मचारीले जुन तरिकाले व्यापारीसँग बार्गेनिङ गर्छन्, त्यसलाई हेर्दा उनीहरूलाई घूस खाने पनि टार्गेट दिएको भान हुन्छ’, नेपाल चेम्बर अफ कमर्सका एक अधिकारीले भन्छन्, ‘अर्को दरमा मूल्यांकन गरेको तिर्नुभन्दा घूस खुवाएर सामान छुटाउँदा केही राहत मिल्छ । सोही कारण व्यापारीले बाध्यतावश यस्तै गर्दै आएका छन् ।’
ती अधिकारीका अनुसार कतिपय व्यापारी भन्सारका अधिकारीविरुद्ध अदालत पनि गएका छन् ।