काठमाडौं । मोरङमा आर्थिक विकास र आर्थिक पत्रकारिता विषयक एकदिने अनुशिक्षण कार्यक्रम सञ्चालन भएको छ । आर्थिक क्षेत्रमा आबद्ध सञ्चारकर्मीका साथ उद्योग संगठन मोरङ, नेपाल पत्रकार महासंघ प्रदेश नं. १, नेपाल पत्रकार महासंघ मोरङ र आर्थिक पत्रकार समाज नेपाल (सेजन) को संयुक्त आयोजनामा तालिम सञ्चालन भएको हो ।
देशको आर्थिक एवं औद्योगिक विकासका लागि सञ्चारकर्मी र सञ्चार माध्यमले पुर्याउँदै आएको योगदानलाई मध्यनजर गरी आर्थिक क्षेत्रमा आबद्ध सञ्चारकर्मीका लागि उक्त तालिम सञ्चालन भएको बताइएको छ । आइतबार सञ्चालन भएको तालिममा प्रदेश नम्बर १ तथा विराटनगर केन्द्रित भएर काम गरेका २० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
संगठनका अध्यक्ष सुयष प्याकुरेलले देशको आर्थिक समृद्धिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै आर्थिक क्षेत्रका मुद्दालाई सञ्चार माध्यमले सशक्त रुपमा उठाउनुपर्नेमा जोड दिएका छन् । उनले सञ्चार माध्यम राष्ट्रको चौथो अंग भएकाले निजी क्षेत्रले भोग्दै आएका समस्या र विषयलाई सञ्चारकर्मीले राज्य समक्ष उठाइ समस्या समाधानमा झकझकाउनु पर्ने बताए ।
साथै अध्यक्ष प्याकुरेलले एकदिने अनुशिक्षण कार्यक्रमले प्रदेश नं. १ तथा विराटनगरलाई कार्यक्षेत्र बनाएर आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका सञ्चारकर्मीहरुलाई आर्थिक एवं उद्योग व्यवसायको विकास, आर्थिक पत्रकारिताले समेट्ने क्षेत्र लगायतका विषयमा प्रष्ट पार्ने बताए ।
त्यस्तै बताउँदै सञ्चार जगतले निजी क्षेत्रको आवाजलाई प्रभावकारी रुपमा माथिल्लो निकायसम्म पुर्याउने विश्वास व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष लिलावल्लभ घिमिरेले आर्थिक क्षेत्रमा सञ्चारकर्मीलाई भिज्न अनुरोध गर्दै अगामिमा दिन समाचारका ढाँचा परिवर्तन गर्नुपर्ने बताए ।
उनले मुलुकको आर्थिक एवं औैद्योगिक विकासमा मोरङ अब्बल भएको बताउँदै सो क्षेत्रले भोग्दै आएका समस्यालाई प्रभावकारी रुपमा उठाउँदै आर्थिक समृद्धिमा सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।
आर्थिक पत्रकार समाज नेपाल (सेजन) का अध्यक्ष भीम गौतमले आर्थिक पत्रकारिता र व्यावसायिक आचार संहिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै आर्थिक पत्रकारिताले अर्थतन्त्र, व्यापार व्यवसाय, लगानी, उत्पादन उपभोग, वैदेशिक व्यापारलगायतका गतिविधि, योजना तथा कार्यक्रमबारे सूचना सम्प्रेषण, अभिलेख र तथ्यांकको विश्लेषण गर्नुपर्ने बताए ।
आर्थिक पत्रकार समाज नेपाल (सेजन) का निवर्तमान अध्यक्ष पुष्करराज आचार्यले नीजि क्षेत्र र पत्रकारिताका विषयमा कार्यपत्र प्रस्तुत गर्दै देशको दुईतिहाइ लगानी र ९० प्रतिशतभन्दा बढी रोजगारीको स्रोत निजी क्षेत्र भएकाले खुला बजार अर्थतन्त्रमा सरकारले अंकुश लाउनेभन्दा प्रतिस्पर्धा प्रबद्र्धन गराई उपभोक्ताको संरक्षण गर्नुपर्ने बताए ।
अनुशिक्षणमा उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य ईन्द्र खत्री (राजन), पारस लुनियाको उपस्थिति रहेको थियो ।