बुधबार, साउन १३ २०७८ ०९:२० AM

×

मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

images

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बीउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको हो । 
    
चालू आर्थिक वर्ष २०७७/७८ को नियमित कार्यक्रमअनुसार नगरपालिकाले नगरका सबै वडाका किसानलाई सावाँ धान, सावित्री धान र राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताए । धानको बीउ राख्ने बेलामा किसानहरु नठगिउन् र धानको बीउ अभाव नहोस् भनेर खुला टेण्डरमार्फत खरिद गरेर किसानलाई समयमै उपलब्ध गराइएको उनको भनाइ छ ।

“धानको बीउ राख्ने समयमा हरेक वर्ष बीउको अभाव हुने तथा किसानहरु ठगिने हुँदै आएका थियो”, सापकोटाले भने, “किसानलाई राहत दिनका लागि नगरपालिकाले अनुदानमा गुणस्तरीय बीउ उपलब्ध गराएको हो ।” 
    
बजारमा प्रतिकिलो ११० रुपैयाँमा बिक्री हुने धानको बिउ नगरपालिकाले खुल्ला टेण्डरमार्फत ७२ रुपैयाँमा खरिद गरेर किसानहरुलाई  ३६ रुपैयाँमा उपलब्ध गराएको सापकोटाले बताए। नगरपालिकाभित्रका ४ हजार ५ सय घरधुरीलाई ५१ हजार ३१० किलो धानको बीउ अनुदानमा वितरण गरिएको सापकोटाले बताए । 

नगरपालिकाले ३५ लाख रुपैयाँ लागतमा खरिद गरेको बीउ किसानलाई १७ लाख ५० हजार रुपैयाँमा वितरण गरिएको सापकोटाले जानकारी दिए। 

अनुदानमा गुणस्तरीय धानको बीउ पाउँदा किसानहरु समेत हर्षित छन् । मध्यविन्दु–२ पतबारीका किसान केशव घिमिरेले यस वर्ष समयमै धानको बीउ पाउनाले आफूहरुले दुःख नपाएको बताए । 

अघिल्ला वर्षहरुमा बीउ पाउनै मुस्किल हुने गरेको भन्दै धानको बीउ जसरी नै रासायनिक मलसमेत सहजरूपमा पाउन सके उत्पादनमा वृद्धि हुने घिमिरेको भनाइ छ । 
 

मङ्गलबार १८ जेठ २०७८ ०८:३९ AM मा प्रकाशित

प्रतिक्रिया