काठमाडौं । कोरोना भाइसर (कोभिड १९)ले संसारभर सबैभन्दा बढी असर पर्यटन क्षेत्रलाई नै गर्यो । पर्यटन व्यवसायमा लागेका नयाँ तथा पुराना वा साना/ठूला सबै व्यवसायीलाई सडकमै ल्याइदियो ।
कोभिडको संक्रमण बढिरहँदा त पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परिरह्यो । कोभिडको सन्त्रास रोकिएपछि पनि धेरै समय पर्यटन क्षेत्र उस्किने सम्भावना हुँदैन । त्यही भएर नेपालका चार जना युवा पर्यटन व्यवसायीले तारे होटल बन्द गरेर मास्क बनाउने उद्योग लगाएका छन् ।
कोभिडको असर निकै लामो समयसम्म जान्छ भन्ने निश्कर्ष सहित उनीहरुले मास्क उद्योग लगाएका हुन् । ‘फेरी अहिले अत्यधिक माग पनि मास्ककै छ,’ मास्क उद्योगका सञ्चालक मध्यका एक युवा पर्यटन व्यवसायी युवराज श्रेष्ठले भने, ‘कोरोनाले तीन वटा तारे होटल बन्द गरिदियो, तर, हामी भित्रको उद्यमशीलता बन्द गर्न सकेन । हामीले सानो लगानीमा भए पनि मास्क उद्योग स्थापना गरेका छौं । र केहीलाई रोजगारी पनि दिएका छौं ।’
उनीहरुले अहिले समय अनुसार व्यवसाय सञ्चालन गर्दै लैजाने उद्देश्यका साथ पर्यटन क्षेत्रमा क्रियाशील ६ जना व्यवसायीहरुको सक्रियतामा नेपाली मास्क उत्पादन गर्न लागेका हुन् ।
‘समयको माग अनुसार चल्न सकिएन भने समस्या हुन्छ,’ सञ्चालक श्रेष्ठले भने त्यही भएर अहिले ६ जनाको समूह मिलेर मास्क उत्पादन सुरु गरेका हौं ’। भाइरसको कारण अधिकाशं व्यवसायहरु ठप्प रहेको र श्रमिकहरुको रोजगारी गुमिरहेको बेला नयाँ योजनाका साथ मास्क उत्पादन गरेर ४ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिन सुरु गरिएको बताए ।ग्रोमिन कम्पनीमार्फत सरकारले लगाएको लकडाउनसँगै नयाँ व्यवसाय सुरु गरेको बताउँछन् ।
होटल क्राउन प्लाजा, होटल प्रिन्स प्लाजा र होटल सिभम् प्लाजा सञ्चालन गर्दै आएका श्रेष्ठले ललितपुरको गोदावरी र चितवनमा रिसोर्ट समेत निर्माण गरिरहेका छन् । चितवनमा रहेको रिसोर्ट बैशाख १ गतेबाट सञ्चालनको तयारी गरिएको थियो । कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) ले ती सबै बन्द छन ।
लकडाउनमा त्यत्तिकै बसेर ऋण र ब्याजको तनाब लिनुभन्दा केही नयाँ गरौं र सानै लगानीबाट काम गरौं भन्ने सोचका साथ ३० लाख रुपैयाँ लगानी गरेर मास्क उत्पादन गरिएको उनको भनाइ छ । होटल, ट्राभल र एयरलाइन्स आबद्ध भएका व्यवसायीहरुले संयुक्त रुपमा मास्क उत्पादन सुरु गरेका हुन् । कम्पनीले दुई थरीको मास्कको डिजाइन गरेर उत्पादन गरिरहेको छ।
एकथरी फिल्टर सहितको छ भने अर्को फिल्टर रहित धोएर प्रयोग गर्न पनि मिल्ने बनाइएको छ । कपडा धोएजसरी नै धोएर प्रयोग गर्न सकिन्छ । आइरन गर्न मिल्ने र आइरन लाग्ने खालको कपडा प्रयोग गरिएको जनाएको छ । ‘अहिले एप मार्फत बिक्री गर्ने सोच बनाएका छौं’ सञ्चालक श्रेष्ठले भने ‘अहिले फेसबुक पेज र इन्स्ट्राग्राममार्फत बुकिङ गरेर होम डेलिबरी गरिरहेका छौं ।’
अहिले दैनिक १ सयदेखि १ सय ५० ओटासम्म बिक्री भइरहेको छ । उत्पादन गरेको थोरै समय भएकोले सबै ठाउँमा पुर्याउन नसकिएको बताउँदै प्रयोगकर्ताहरुबाट धेरै राम्रो प्रतिक्रियाहरु आइरहेको उनको भनाइ छ ।
यसलाई समय र परिस्थिति अनुसार जातिय पर्वहरुलाई लक्षित गरेर पनि मास्क उत्पादन गर्दै जाने र विभिन्न अन्तर्राष्ट्रिय खेलहरुलाई पनि लक्षित गरेर उत्पादन गर्ने सोच बनाएका छन् ।
त्यति मात्र हैन, भोजभत्तेर र पाटीमा सहभागिहरुलाई पनि आवश्यकता अनुसार फेसेनेबल मास्क उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । इंग्लिस प्रिमियर लिग हुँदै छ, त्यो बेला पनि नेपालमा बढि रुचाइएका क्लवहरु र खेलाडीहरुको फोटो, जर्सि नम्बर राखेर मास्क उत्पादन गर्ने जनाएको छ ।
अहिले मास्क अनिवार्य भइसकेको छ । अफिस जादा ड्रेस लगाउँदा मास्क पनि अनिवार्य भइसकेको छ । त्यसैले कोट पाइन्टमा पनि लगाउन मिल्ने खालको सुहाउदो मास्क उत्पादन गर्ने सोच कम्पनीले बनाएको छ ।
‘सर्जिकल मास्कको लागि आइएमएस ग्रुपले नेपाललाई आत्मनिर्भर बनाउन खोजिरहेको बेला सामान्य अवस्थामा लगाउने मास्कमा आत्मनिर्भर बनाउने उद्देश्य हाम्रो हो’ सञ्चालक श्रेष्ठले भने, ‘यो किसिमको मास्क उत्पादन गर्ने कम्पनी नेपालको हामी पहिलो हो ।’
फिल्टर सहितको मास्कको मूल्य ३ सय ५० रुपैयाँ छ भने फिल्टर नभएको मास्कको मूल्य २ सय ५० रुपैयाँ रहेको छ । काठमाडौं ,भक्तपुर र ललितपुरमा अनलाइन मार्फत डेलिभरीको सुविधा राखिएको छ । नयाँ उत्पादन भएकोले एउटा मास्कको अर्डर भए पनि उपत्यका भित्र उही मूल्यमा पुर्याउने काम गरिरहेको जनाएको छ ।
मास्क बनाउदा नै पूर्ण रुपमा स्यानटाइज गरिएको जनाएको छ । कालिगडको अभावले अहिले दैनिक ३ सय भन्दा बढी मास्क उत्पादन गर्न नसकिएको बताउँदै लकडाउन खुले पछि यसको क्षमता दैनिक १० हजार भन्दा बढी बढाउने गरी आवश्यक तयारी गरिरहेको सञ्चालक श्रेष्ठको भनाइ छ ।