काठमाडौं । लकडाउनका कारण पर्यटकिय गतिबिधि ठप्प भएपछि दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित दुई वटा होटल बन्द भएका छन् । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले गरेको लकडाउनका कारण व्यवसाय नै बन्द भएपछि भाडा तिर्न, कर्मचारीको तलव दिन तथा बैंकको किस्ता तिर्न कठिन भएको भन्दै होटल पावन र दोलखा भ्यू पूर्ण रुपमा बन्द गरिएका छन् ।
व्यवसाय नै ठप्प भएपछि भाडा तिर्न नै मुस्किल भएको कारण होटल बन्द गर्नुको बिकल्प नभएको होटल पावनका सञ्चालक गणेशविक्रम शाहिले जानकारी दिए । करिब ५० लाख लगानी गरिएको होटल पावन बैंशाखबाट बन्द गरिएको उनले बताए । होटलमा १८ वटा कोठामा ४० भन्दा बढी बेड छन् ।
चरिकोट सातदोबाटो चोकमै रहेको होटल पावन दोलखाकै सबैभन्दा पुरानो लक्ष्मी लजकै रुपमा पनि चिनिन्छ । लक्ष्मी लज २०३७ सालमा स्थापना भएदेखि ४ दशकसम्म निरन्तर सञ्चालनमा आइरहेको थियो । दोलखामा पर्यटकीय गतिविधि बढेसँगै तत्कालिन लक्ष्मी लजले पुरानो संरचना भत्काएर नयाँ आधुनिक घर बनाएको थियो । आकर्षक स्थानमा रहेको होटल बन्द भएसँगै अहिले एक दर्जन भन्दा बढी जनशक्ति पुर्ण बेरोजगार भएका छन् ।
होटल पावनसँगै चरिकोटको चरिघ्याङमा सञ्चालित दोलखा भ्यू होटल पनि बन्द भएको छ । लकडाउन लम्बिदै गएको र भाडा तिर्न समस्या भएपछि होटल नै बन्द गरिएको सञ्चालकको भनाई छ । अहिले होटल बन्द गरेर घरबेटीलाई भाडा दिनबाट जोगिएपनि बैंकबाट लिएको ऋण कसरी तिर्ने भन्ने समस्याले सताउन थालेको उनको भनाई छ ।
कोरोनाका कारण दुई होटल पुर्ण रुपमा भएपछि अहिले अन्य होटल व्यवसायीहरु पनि अन्योलमा छन् । चरिकोटमा रहेका २ दर्जन भन्दा बढी ठूला होटलहरु मध्ये आधाभन्दा बढी भाडामा छन् ।
आफ्नै घर हुनेहरुले जेनतेन चलाइरहेको भएपनि भाडामा रहनेहरु सबैभन्दा बढी समस्यामा परेको दोलखा उद्योग वाणिज्य सघंका अध्यक्ष इन्द्र श्रेष्ठको भनाई छ । घरबेटीसँगकै छलफलमा दुई वटा होटल बन्द भएको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवंम होटल संगमका सञ्चालक सुर्दशन कार्कीले सरकारले लकडाउन लम्व्याउदै जाने हो भने अन्य होटलहरु बन्द हुने अवस्थामा पुग्ने बताए । अहिले होटल सञ्चालनमा नरहेपनि श्रमिकहरुलाई तलब दिइरहनु परेको र बैंकको व्याज किस्ता तिर्न मुस्किल पर्ने भएकोले धेरै व्यवसायीहरु घरबारविहीन हुने अवस्थामा पुग्न थालिएको उनको भनाई छ ।
पछिल्लो समय दोलखाको प्रमुख धार्मिक स्थल कालिञ्चोकमा हिउँ खेल्न जानेहरुको संख्या बढेसँगै चरिकोट, दोलखा र कालिञ्चोकमा सुविधासम्पन्न होटल निर्माणको होडनै चलेको थियो । तर, अहिले लामोसाघु जिरीसडक खण्ड निर्माणमा भइरहेको ढिलाईका कारण केहि बर्षदेखी भने पर्यटक तुलनात्मक हिसावले घटेको व्यवसायीहरुको भननाई छ ।