काठमाडौं । सरकारले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने तयारी गरेसँगै नेपाल एयरलाइन्सले दैनिक १६ सय यात्रुहरुलाई ओसार्न सक्ने जानकारी गराएको छ । परराष्ट्र र श्रम मन्त्रालयलाई एयरलाइन्सले सो विषयमा जानकारी गराइसकेको कार्यकारी अध्यक्ष सुशिल घिमिरेले जानकारी दिए ।
सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई विश्वका विभिन्न मुलुकबाट उद्धार गरी ल्याउने निर्णय गरेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आन्तरिक तयारी तिब्र पारेको छ । विषेश गरेर खाडी सहित मलेसियामा काम गर्न गएका हजारौं नेपालीहरु अहिले कोरोना भाइरसको प्रभावबढेसँगै बेरोजगारी छन् भने केहिले रोजगारी गुमाउन लागिरहेका छन् ।
विश्वभर नै भाइरस नियन्त्रणका लागि लकडाउन(बन्दाबन्दी) गरेसँगै निश्चीत उद्योग व्यवसाय बाहेक सबै बन्द भएका छन् । बिषेश गरेर पर्यटन क्षेत्रसँग सम्बन्धीत क्षेत्रहरु होटल, रेष्टुरेन्ट, सिनेमाहललगायतका क्षेत्रमा हजारौं नेपाली बेरोजगार भएर नेपाल फर्कन चाहिरहेका छन् ।
त्यो सँगै विदेशमा अवैधानिक रुपमा बसोबास गर्दै आएका, जेल सजाय भोगिरहेकाहरुलाई पनि आफ्नो देशम फर्कन अनुमति दिएसँगै धेरै नेपालीहरु फर्कन चाहिरहेका छन् । त्यस्तै करार अवधि सकेकाहरु पनि लकडाउन पछि विदेशमै रोकिएका छन् ।
पहिलो चरणमा सरकारले विभिन्न रोगबाट ग्रसित, आममाफी पाएका र अवैधानिक रुपमा बस्दै आएकाहरुलाई ल्याउने तयारी गरेको छ । त्यसमा जहाजको भाडा स्वयम यात्रुले नै तिर्नुपर्ने छ । तर, विरामी, असाह्य र अपांगहरुको लागि भने सरकारले नै भाडा तिर्ने तयारी गरेको छ । यो विषयमा निर्णय भने भइसकेको छैन ।
नेपाल एयरलाइन्सले चार्टड उडानको लागि भाडा निर्धारण भने गरिसकेको छैन । एयरलाइन्सका अध्यक्ष घिमिरेले एक तर्फि मात्र उडान हुने भएकोले सामान्य अवस्थाको भन्दा केहि महंगो हुने बताए ।
‘भाडा निर्धारणको लागि गृहकार्य भइरहेको छ,’ अध्यक्ष घिमिरेले भने, ‘सकेसम्म धेरै महंगो नहुने गरी भाडा तोक्ने छौं । अवको दुई दिन भित्र भाडा निर्धारण गरी सम्बन्धीत मन्त्रालय र दूतावासहरुमा पठाइसक्ने तयारी नेपाल एयरलाइन्सको रहेको छ ।’
चार्टड उडानका लागि एयरलाइन्सले दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाजलाई प्रयोग गर्ने छ । यो पटक जहाजमा खाना र पानी एकै पटक सिटमा राखिने भएको छ ।
सामान्य अवस्थामा एयरहोस्टेजले खाना र पानी दिने गरेको भएपनि अहिले अवस्था जटिल भएकोले सुरुमै सिटमा राख्ने तयारी एयरलाइन्सको रहेको छ । पछिल्लो समय नेपाल एयरलाइन्सले चार्टड उडान नियमीत जस्तै गरिरहेको छ ।