काठमाडौं । कोरोना भाइरसको प्रभावले स्वदेश फर्कन लागेका नेपालीहरुलाई पहिलो चरणमा उपत्यका बाहिरका ५ ठाउँका होटलमा राखिने भएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको क्वारेन्टाइन व्यवस्थापन समितिका प्रमुख एवंम संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र होटल एसोसिएसन अफ नेपाल(हान) का पदाधिकारीबीच मंगलबार भएको छलफलपछि यस्तो सहमति भएको हो ।
सहमति अनुसार आफैले पैसा तिर्न सक्नेहरुलाई नगरकोट, धुलिखेल, पोखरा, चितवन र भैरहवाका होटलहरुमा राखिने छ । विदेशबाट आएकाहरु मध्येपनि क्षेत्रगत हिसावमा उनीहरुलाई नजिक तथा पाएक पर्ने ठाउँमा राखिने गरी आवश्यक तयारी गरिएको पर्यटन मन्त्री भट्टराईको भनाई छ ।
हानका महासचिव शाजन शाक्यले पाँच ठाउँका होटलहरुको विवरण मन्त्री भट्टराईलाई बुझाइएको जानकारी दिए । उनका अनुसार पहिलो चरणका लागि पर्यटन मन्त्रालयले १० हजार बेड माग छ । होटलमा बस्नेहरुले होटलको खर्च भने आफैले बेहोर्नुपर्ने छ ।
पर्यटकीय स्तरका होटलहरुमा बस्न एक जनाको लागि ३ हजार र दुई जनाका लागि प्रति व्यक्ति २ हजार तोकिएको छ । उक्त रकममा ४ पटक पौष्टिक आहारयुक्त खाना र खाजा पाँउने छन् ।
अहिले क्वारेन्टाइनका लागि होटलहरुले ६० हजार वेड दिन तयार रहेको जानकारी समेत पर्यटन मन्त्रीलाई गराएका छन् । देशभर रहेका होटलहरुलाई क्वारेन्टाइन बनाउन होटल व्यवसायीहरु सहमत भएका छन् ।
यस्तै विदेशबाट आएकाहरु मध्ये सबैले पैसा तिर्न सक्ने अवस्था हुदैन । त्यस्ता व्यक्तिहरुका लागि भने सरकारले नै पार्टिप्यालेस र धर्मशालाहरुमा राख्ने तयारी गरिरहेको छ ।
सरकारले पहिलो चरणमा २५ हजार नेपालीहरुलाई उद्धार गरेर ल्याउने बताउदै आएको छ । नेपाल आउन चाहनेहरुले एक सातासम्मको स्वास्थ्य रिपोर्ट पेश गर्नुपर्ने हुन्छ । उनिहरुलाई कोरोना पोजेटिभ देखिएमा सोहि देशमा उपचार गराउनु पर्ने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि पनि स्वास्थ्य परिक्षण गराइने छ । त्यहाँ पनि स्वास्थ्यमा कुनै खराबी नदेखिएमा होटलसम्म नेपाली सेनाले पु¥याउने छ भने विरामीको लक्षण देखिएकाहरुलाई सिधै अस्पतालमा लगिने छ ।