काठमाडौं । होटल एसोसिएसन अफ नेपाल(हान)ले ५ प्रतिशत ब्याजमा ऋण लिएर कर्मचारीहरुलाई तलब दिन नसक्ने जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷०७८ को बजेट माथि प्रतिक्रिया जनाउदै हानले यस्तो बताएको हो ।
हानका अध्यक्ष सिर्जना राणा र महासचिव साजन शाक्यले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै कोभिड–१९ बाट सिर्जित परिस्थितीमा होटल व्यवसायलाइ टिकाउन अपेक्षा गरिएका आर्थिक राहतका कार्यक्रम समावेश नभएको टिप्पनी गरिएको छ ।
५ प्रतिशतमा ५० अर्बको पुनस्र्थापना कोषको घोषणा सकारात्मक भए तापनि होटल उद्योगमा कार्यरत १० लाख भन्दा बढीको रोजगारी टिकाउने बिषयमा बजेट मौन रहेको हानले जनाएको छ । हालको परिस्थितिमा होटल उद्योगहरु २ वर्षभन्दा अघि न्यूनतम स्तरमा आर्थिक रुपमा सक्षम हुन नसक्ने व्यवसायीहरुको भनाई छ ।
ऋण लिएर लामो समयसम्म कर्मचारीको तलबलगायत जग्गा, भवन, भौतिक संरचनाको भाडा व्यवस्थापन गर्न नसकिने होटल संघ नेपालले स्पष्ट पारेको हो ।
झन्डै ३ महिनासम्म लम्बिँदै गएको बन्दाबदीको अवधिमा राजस्व, कर, महसुललगायत छुट गरी कामदार कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक, सुरक्षा कोष जस्ता शीर्षकबाट व्यहोरिने विश्वव्यापी प्रचलन समेत नेपाल सरकारले बजेटमा घोषणा गर्न नसकेको बताइएको छ ।
खबौंको ऋण प्रभाव भएको होटल उद्योगमा साँवा व्याज भुक्तानी समेत कम्तीमा २ वर्ष अघि गर्न नसकिने यथार्थलाई बजेटमा सम्बोधन गरेको ५ प्रतिशत व्याजमा एक खर्बसम्मको पुनर्कर्जा सुविधा सकारात्मक रहेको हानको भनाई छ ।
बजेटले पर्यटन÷होटल उद्योगलाई आयकर लगायतमा केही छुट दिएको साथै मूल्य अभिवृद्धि कर भुक्तानी गर्ने अवधि बढाएको भएपनि उद्योगधन्दा केही वर्षसम्म शून्यको अवस्थामा रहने हुँदा दिइएको सुविधा प्रयोगविहीन हुने हानको ठहर छ ।
त्यस्तै निजामती कर्मचारीलगायत संगठित क्षेत्रका कामदार कर्मचारीहरुलाई देश दर्शन गर्ने कार्यक्रमका लागि आर्थिक खर्चसमेतको प्रोत्साहन गर्ने नीति सकारात्मक रहेको र यसका लागि होटल उद्योग प्रमुख सरोकार पक्षको हैसियतले प्रतिबद्ध रहने जनाइएको छ ।
बजेटले सामाजिक सुरक्षा कोषमा दर्ता रहेका उद्योग प्रतिष्ठानहरुका कामदार कर्मचारीहरुले बन्दाबन्दीको समयमा जम्मा गर्नुपर्ने रकम नेपाल सरकारबाट व्यहोरिने सकारात्मक घोषणाका बाबजुद पनि कामदार कर्मचारीको अनिच्छाले दर्ता हुन नसकेको भए तापनि राज्यले यस तर्फ सहानुभूतिपूर्वक व्यवहार गरी उपलब्ध सुविधा सबैलाई दिलाई दिन पनि हानले अनुरोध गरेको छ ।