काठमाडौं । कोरोना भाइरसको प्रभावपछि गरिएको लक डाउनका कारण नेपालमै रोकिएका हङकङमा बसोबास गर्दै आएका नेपालीहरु सोमबार रातीबाट हङकङ फर्किदैं छन् ।
सोमबार नेपालबाट नेपाल एयरलाइन्सको तीन चार्टर्ड विमानमार्फत उनीहरु फर्किन लागेका हुन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए)हङकङका अध्यक्ष टिका गुरुङले हङकङस्थित नेपाली महावाणिज्यदूतावाससंगको करिब १ महिना देखिको पहलपछि नेपालमा रोकिएकाहरु फर्किन पाएका हुन् ।
लकडाउन लम्बिएसँगै अन्तर्राष्ट्रिय उडानको समेत मिति सरिरहेको छ । त्यहि भएर अहिले हङगङबासी नेपालीहरुले जहाज चार्टर गरेर फर्किन लागेका हुन् । सोमबार नेपाल वायुसेवा निगमको १ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज मार्फत चार्टर्ड उडान हुँदैछ ।
निगमका प्रवक्ता अर्चना खड्काले सोमबार एकैपटक तीन वटा जहाज माफर्त हङकङमा उडान गर्न लागिएको जानकारी दिइन । यस्तै अबको ४ दिनपछि न्यारोबडी जहाजमार्फत चार्टर्ड उडान हुने उनले बताईन् ।
सोमबार जाने दुई वटा न्यारोबडी हार्वेस्ट मुन ट्राभलले बुकिङ गरेको हो भने वाइडबडी जहाज हङकङका ८ वटा ट्राभल एजेन्सीहरु मिलेरले बुकिङ गरेका हुन् ।
नेपालबाट गएकाहरु १४ दिन क्वारेन्टाइनमा बस्ने छन् । अहिले नेपालमा करिब १ हजार ३ सय जना नेपालीमूलका हङकङबासीहरु लकडाउनका कारण रोकिएका छन । एकमहिनाअघिदेखि फर्किन चाहनेहरुलाई गैरआवासिय नेपाली संघ हङकङले नामावली संकलन गरेको थियो ।
यसअघि हङकङ चार्टर्ड उडानका लागि हिमालय एयरलाइन्सले प्रक्रिया थालेको थियो । हिमालय एयरलाइन्स जाने निश्चित भएपछि हङकङमा रहेका ट्राभल एजेन्सीहरुले नेपाल एयरलाइन्सलाई महँगोमा बुक गरेका थिए । हङकङले हिमालयलाई उडान अनुमति नदिएपछि नेपाल एयरलाइन्स नै बुक गरेर नेपालीहरु फर्किन लागेका हुन् ।