काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि बन्द रहेका होटलहरु क्वारेन्टाइनका लागि दिन व्यवसायीहरु तयार भएका छन् । सरकारले क्वारेन्टाइनको रुपमा होटलहरुलाई प्रयोग गर्न सकिने निर्णय गरेसँगै होटल व्यवसायीहरु तयार भएका हुन् ।
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शुक्रबार बसेको बैंठकले अर्को साताबाट विदेशमा अलपत्र परेका नेपालीहरुलाई ल्याउने निर्णय गरेको छ । यो सँगै समितिले क्वारेन्टाइनका लागि होटलहरु लिन सिफारीस समेत गरेको छ । तर, होटलहरु लिने विषयमा सरकारले स्पष्ट नीति बनाएको छैन ।
भाइरसको कारण व्यवसाय नै बन्द भएको बेला सरकारले क्वारेन्टाइन बनाउने नीति ल्याएसँगै विषेशगरेर साना होटल व्यवसायीहरु खुशी देखिएका छन् ।
क्वारेन्टाइनका लागि होटल एसोसिएसन अफ नेपाल(हान)मा आबद्ध भएका होटलहरुको मात्र २० हजार कोठा छन् । सरकारको आवश्यकता अनुसार ती कोठाहरु प्रयोग गर्न दिइने सहमती भएको हानका महासचिव शाजन शाक्यले जानकारी दिए ।
काठमाडौं उपत्यका भित्र मात्र ३ हजार १ सय कोठा क्वारेन्टाइनका लागि दिन तयार भएको छ । यस्तै हानको १५ वटा च्याप्टरमा रहेका होटलहरुले पनि कोठाहरु दिन तयार भएका छन् । होटलको शुल्क भने विदेशबाट आएका श्रमिक आफैले व्यहोर्नु पर्ने छ ।
हानले अहिले होटलमा बस्नेहरुको लागि नयाँ मुल्य पनि सार्वजनिक गरेको छ । वान स्टारमा एक्लै बस्नेको लागि ३ हजार, दुर्ई जनाको लागि ५ हजार, पर्यटकीय स्तरका होटलमा एक्लै बस्नेको लागि ३ हजार र दुई जना बस्नका लागि २ हजार रुपैयाँ तोकेको छ । यसमा चार पटक खाना र बस्नको सुविधा पाउने छन् ।
पोखरामा ४ हजार कोठा, चितवन ४ हजार, भैरहवा ३ हजार र नेपालगन्जमा २ हजार ५ सय रहेका छन् । अन्य च्याप्टरबाट पनि कोठाको संख्या आइरहेको महासचिव शाक्यले जानकारी दिए ।
होटलमा क्वारेन्टाइन बनाउदा त्यहाँ कार्यरत श्रमिकहरुको स्वास्थ्य अवस्थाको ग्यारेन्टी लिने देखी होटल आसपासका समुदायहरुलाई कसरी सम्झाउने भन्ने समेतको निर्णय नआउदा होटल व्यवसायीहरु थप अन्योलमा परेका छन् । क्वारेन्टाइनमा प्रयोग गरिएका होटलहरुलाई पछि सरकारले कुन आधारमा बस्न योग्य घोषणा गर्ने भन्ने पनि टुंगो लगाएको छैन । जसको कारण लक डाउन खुलेपछि ती होटलमा ग्राहकहरुलाई कसरी राख्ने भन्ने स्पष्ट नीति बनाउन आवश्यक छ ।