काठमाडौं । तारे होटलका सञ्चालकले बैंशाख १ गतेदेखि ६ महिनाका लागि सम्पूर्ण तारे होटल बन्दको निर्णय गरेका छन् । सरकारले घोषणा गरेको बन्दावन्दी (लकडाउन) का कारण पर्यटन उद्योगमा दूरगामी नकरात्मक प्रभाव रहने भएपछि आगामी १ वर्षसम्म पूर्ण रुपले चल्न नसक्ने निश्कर्षका आधार सम्पूर्ण होटल बन्द गर्ने होटल संघ नेपालले निर्णय गरेको हो ।
होटल संघले श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जारी गरेको सूचना बमोजिम बैशाख १ गतेबाट लागू हुने गरी ६ महिनासम्म प्रत्यक महिना आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकमका साथै सेवाशुल्क पनि उपलब्ध गराउने निर्णय गरिएको छ।
श्रमिक युनियनसँग १२.५ प्रतिशतका दरले पारिश्रमिक लिन सहमत नभएको अवस्थामा सो समयदेखि नै सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतिका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्ण रुपमा विदा दिने संघले निर्णय गरेको हो ।
होटलले दिने सहमत गरेको आधारभूत तलबको १२.५ प्रतिशत रकममा सरकारले थप गरी श्रमिकलाई तलब भत्ता भुक्तानी गर्न ‘जव रिटेन्सन फन्ट’ को व्यवस्था गर्नका लागि होटल संघ र ट्रेड युनियनले संयुक्त रुपमा पहल थाल्ने निर्णय गरेको सांग्रिला होटलका प्रवन्ध निर्देशक प्रसिद्धबहादुर पाण्डेले बताए ।
औद्योगिक सम्बन्धलाई व्यवस्थित गर्ने सम्बन्धमा सरोकार निकाय तथा श्रमिक संगठनहरुका बीचमा आवश्यक छलफल तथा सहकार्यका लागि होटल संघले निरन्तर पहल गर्ने बताएको छ । संघले गरेको निर्णय सबै सदस्य होटलले पालना गर्नुपर्ने छ । यदि पालना नगर्ने होटल संघ वा सदस्यलाई पर्न जाने हानी नोक्सान ब्यहोर्न पर्ने र नव्योहरेमा होटल संघले कानूनी कारबाही गर्ने छ ।
केही दिन अघि रोजगारदाता परिषद्ले अधिकतम ५० प्रतिशत मात्रै पारिश्रमिक दिने निर्णय गरेर सरकारलाई बुझाएका थिए । तर, केही दिनअघि सरकारले अहिले ५० प्रतिशत र लकडाउन खुलेपछि ५० प्रतिशत तलब दिनुपर्ने निर्णय गरेपछि उनीहरुले होटल बन्द गर्ने निर्णय गरेको संघका अध्यक्ष सिर्जना राणाले बताइन् ।
बैठक ४ घण्टा लामो बैठकले कर्मचारी कटौतीदेखि ६ महिनासम्म होटल बन्द गर्ने निर्णय गरेको हो । तर, बैठकमा कर्मचारीलाई सतप्रतिशत तलब सुविधा दिन नसकिने भन्ने आवाज उठेको थियो । सरकारले जबरजस्ती गरेकाले ६ महिनाका लागि पूर्ण रुपमा होटल बन्द गर्न बाध्य भएको एक सदस्यले क्यापिटल नेपाललाई जानकारी दिए ।
कोभिड (१९)बाट सबैभन्दा बढी होटल क्षेत्र प्रभावित हुँदा पनि सरकारले कर्मचारीलाई सतप्रतिशत तलब दिन निर्णय गरेपछि हायात, अन्नपूर्ण, सांग्रिला, होटल एम्बेसडर, सोल्टी, अन्नपूर्ण, शंकर होटल, होटल आकामा र्याडिसनलगायत होटलका सञ्चालकहरुको उपस्थिति रहेको थियो ।