काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा चिप्लिएको यति एयरलाइन्सको जहाज हिलोका कारण निकाल्न मुस्किल भएको छ ।
नेपालगञ्जबाट उडानभरेर आएको जहाज अवतरणको क्रममा रनवेमा चिप्लिएको यति एयरलाइन्सको जहाज हिलोका कारण निकाल्न समस्या भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक राजन पोखरेलले वर्षाको कारण जहाज निकाल्न मुस्किल भएको जानकारी दिए । उनले जहाज हिलोमा गाडिएको कारण निकाल्न समस्या भएको बताए । जहाजमा क्षति नपुुग्ने गरी निकाल्ने प्रयास भइरहेको कारण ढिलाई भएको महानिर्देशक पोखरेलको भनाइ छ ।
वर्षात भइरहेको बेला जहाज अवतरण गर्ने क्रममा रनवेमा जहाज चिप्लीएर घासे मैदानमा पुगेको थियो । घटनाको विषयमा क्यानले छानविन समिति बनाउने महानिर्देशक पोखरेलको भनाइ छ । उनले के कारणले दुर्घटना भएको भन्ने विषयमा छानविन समिति बनाएर दोषीलाई कार्वाही गर्ने बताए । जहाज चिप्लिएपछि २ बजेसम्मलाई विमानस्थल बन्द गरिएको छ ।
जहाज निकाल्न नेपाली सेना, नेपाल प्रहरी, नेपाल एयरलाइन्सका इन्जिनियर, यति एयरलाइन्सका कर्मचारीहरु लागि परेका छन् ।
वर्षातको कारण नेपालगञ्ज विमानस्थल बिहान बन्द भएको थियो ।
मौसमा केही सुधार आएसँगै नेपालगञ्जबाट यति एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । यतिले श्री एयरलाइन्सका यात्रुहरुलाईसमेत लिएर आएको थियो ।
विहान ११.५ बजे विमानस्थलमा अवतरण गर्ने क्रममा एटीआर ७२–२१२ ‘ए’ मोडल को कन्स्ट्रकसन नम्बर ७४९ रनवेमा चिप्लिएको थियो । ६६ जना यात्रुहरु रहेको सो जहाज चिप्लिँदा २ जना यात्रुहरु घाइते भएका थिए । उनीहरुको हाल काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।