काठमाडौं । कोरोना भाइरस महामारीबाट थला परेको पर्यटन क्षेत्रलाई उकास्न नेपाल चेम्बर अफ कर्मशले सरकारको ध्यानकर्षण गराएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सोमबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटी राहतको प्याकेज ल्याउन सुझाव दिएको हो ।
यस्ता छन् चेम्बरका सुझावहरु
पर्यटन प्रवद्र्धन तर्फ
१ आन्तरिक पर्यटनमा कोरोनाको प्रभाव कम हुने बित्तिकै अघि बढाउनु आवश्यक छ । यसका लागि सरकारले अनिवार्य रुपमा वर्षको एक पटक निजामती तथा संगठित संस्थाका कर्मचारीहरु र आम नागरिकहरुलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्न र निजी क्षेत्रलाई पनि प्याकेजहरु मार्फत केही छुट दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्नेे वातावरण बनाउनु पर्छ ।
२ हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुंदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबर महिनामा सुरु हुने पर्यटकीय सिजनमा चीनका बिभिन्न शहरबाट पर्यटक भित्राउने तर्फ सरकारी स्तरबाटै पहल गरिनु पर्ने ।
३ नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र चाइनिज एअरलाइन्सहरुले चीनको बिभिन्न शहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटकहरु भित्राउने तर्फ पहल गरिनु पर्ने ।
४ पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रले पनि कस्ट टु कस वेसिसमा होटल लगायत अन्य पर्यटकीय सुबिधा प्रदान गर्न सुनिश्चितता प्रदान गरी अधिकतम पर्यटक ल्याउन तयारी थालिनु पर्छ ।
५ पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखि अनिवार्य गर्ने तथा कडाइका साथ अनुगमन समेत गर्ने । हवाईजहाज, बस, कार सहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय, ¥याफ्टिङ– बन्जी–प्याराग्लाइडिङ–साइक्लिङ–बोटिङ–हात्ती सफारी लगायतका पर्यटकीय क्षेत्र र साधनमा नियमित रुपले डिसइन्फेक्ट गर्नुपर्ने र यसबाट सुरक्षाको महशुस गराउन सकिने ।
६ सबैभन्दा बढी प्रभावित होटल तथा एयरलायन्सहरुलाई वित्तीय प्याकेज मार्फत उद्धार गरिनु पर्ने । ऋण, ऋणको ग्यारेण्टीमा सरकार वा नेपाल राष्ट्र वैंकबाट टेवा दिनु पर्ने । कर छुट तथा एयरपोर्ट चार्ज लगायतमा सुविधासहित वित्तीय सहयोग प्रदान गर्नु पर्ने ।
७ भ्रमण वर्ष सचिवालय खारेज भइसकेको सन्दर्भमा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने । यसले पर्यटन रिभाइवलको योजना तथा कार्यक्रम बनाउने,मन्त्रालय अन्तर्गतका मुख्य निकायहरूका लागि थिंकट्यांकको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म ‘रिभाइवल’का लागि विशेष कार्यक्रमहरू बनाइ कार्यान्वयन गर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्ने ।
८ कोरोना भाइरसका कारण पूर्वीय संस्कृतिवारे खास गरेर योग लगायतका सम्वन्धमा पश्चिमी मुलुकमा धेरैनै चासो बढेको र नेपाल सांस्कृतिक तथा धार्मिक कारणले नेपालको आफ्नै गरिमा भएको हुँदा यसको प्रवद्र्धन गर्न सकिएमा पश्चिमी पर्यटकको संख्या वृद्धि हुने भएकोले यसतर्फ पहल गरिनु पर्ने ।
९ मेडिकल टुरिजम, होम स्टे एग्रो टुरिजम, कल्चरल टुरिजम लगायत विधागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउने ।
हवाइ सेवा तर्फ
१ आइकाओ तथा अन्य मुलुकका हवाइसेवा प्रदायकसंग सम्पर्क गरी वायुसेवा उडान कहिलेदेखि सुरक्षित रुपमा सञ्चालन गर्न सकिने सो बारेमा छलफल गरी नेपाल वायुसेवा निगमलाइ समेत सञ्चालन गर्न पाइला चाल्नु पर्ने ।
२ पर्यटक चाप घटेको यो बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तिव्रता दिइनुपर्छ । राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तिव्रता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौन्दर्यकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गहरुको मर्मत सम्भार लगायतका काम यही बेला गर्न सके आन्तरिक रोजगारी सिर्जना हुने तथा भविष्यका लागि पनि राम्रो तयारी गर्न सकिन्छ । निजी क्षेत्रबाट पूर्वाधार निर्माणका लागि राज्यले प्रोत्साहनमूलक प्याकेज ल्याउन सकिने ।
३ हवाइउड्डयनतर्फ ऋण दिन वित्तीय संस्था हिच्किचाउने हुंदा ऋण, ऋणको ग्यारेण्टीमा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनु पर्ने । छुट लगायत बित्तीय सहयोग प्रदान गर्नु पर्ने । साथसाथै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकोले हवाइ भाडा दर पनि घटाइनु पर्ने ।
४ अहिलेको बिषम परिस्थितिमा हवाइ यात्रुहरुको डिपार्चर अगाडी अनिवार्य रुपमा कोरोना परीक्षण गरिएको हुनुपर्ने ।
५ हाल सीमित पाटपूर्जामा मात्र दिईंदै आईएको भ्याटछुट वायूयानका सम्पूर्ण पार्टपूर्जाहरुमा उपलब्ध हुनुपर्ने ।
६ देशमा पुर्नबीमाको सुविधा नगन्य मात्र उपलब्ध भएकोले हवाई बीमामा लगाउँदै आईएको भ्याट र अग्रिम कर छुट हुनुपर्ने । साथै हालको परिस्थितिमा कम्तिमा जहाजको बीमाको सम्पूर्ण व्यवस्था नेपाल पुनर्विमा कम्पनीबाट सहुलियत दरमा हुनुपर्ने ।
७ नेपाल आयल निगमले हाल माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेण्टीको व्यवस्था गरी हाल लिएको नगद धरौटी फिर्ता गर्ने व्यवस्था हुनुपर्ने ।