काठमाडौं । कोरोना भाइरसको प्रभावपछि विश्वभर होटलको कुल आम्दानी सन् २०१९ को तुलनामा २०२० मा करिब ९० प्रतिशत ह्रास आउने प्रक्षेपन गरिएको छ । भाइरसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेपछि होटलको कुल आम्दानीमा ९० प्रतिशतले ह्रास आउने प्रक्षेपन होटल एशोसिएसन अफ नेपाल(हान)ले गरेको छ ।
हानका अध्यक्ष सिर्जना राणाले २०१९ को तुलनामा २०२० मा होटलको कूल आम्दानी १० प्रतिशत भन्दा न्यून हुने अध्ययनको आधारमा होटलहरूले कुनै पनि हालतमा खर्च धान्न नसक्ने तथ्य स्पष्ट रहेको बताइन ।
यस अघि सन् २००३ देखि २००५ सम्म दुई बर्षको अवधिमा होटलहरूको कूल आम्दानीमा करिव ५० प्रतिशतले ह्रास आएको थियो । जसको कारणले करिव ३० बर्ष देखि अस्तित्वमा रहेका काठमाण्डौका ख्यातिप्राप्त होटलहरू नारायणी, ब्लुस्टार, शेर्पा, उडल्याण्ड लगायतले आफ्नो खर्च व्यवस्थापन गर्न नसकेर सेवा बन्द गर्नु परेको थियो । अहिले ९० प्रतिशत ह्रास आउदा धेरै होटलहरु बन्द हुने अवस्था आएकोले तत्कालै सरकारले विषेश नीति ल्याएर बचाउन आवश्यक रहेको उनको भनाई छ ।
तत्कालीन समयमा सरकारले कुनै प्रकारको उचित कदम चाल्न नसकेको कारणले ती होटलहरूले बन्द गर्नु परेको हानको ठहर छ । अहिलेको पनि त्यहि समस्या आएकोले तत्कालै यस्ता विषयमा सम्बोधन गरेर होटलहरु बन्द हुने अवस्थाबाट बचाउन सरकारलाई आग्रह गरेका छन् ।
सामान्यतया पूराना स्थापित होटलहरूको अधिकतम् व्ययभार श्रमिक व्यवस्थापनमा, नयाँ होटलहरूको ऋण व्यवस्थापनमा र पर्यटकीय स्तरका साना होटलहरूको अत्यधिक खर्च घरभाडा लगायतका शीर्षकमा हुने हुँदा यो परिस्थितिमा खर्च व्यवस्थापनको सिद्धान्त अवलम्वन गर्दै होटल उद्योगको संरक्षण गर्न अति आवश्यक रहेको बताइएको छ । अन्यथा सन् २००४⁄०५ को पुनरावृत्ति हुने संकेत देखिने अवस्था आएको हानको ठहर छ ।
होटल क्षेत्रमा सन् २०१९ को कूल आम्दानीको करिव ४० प्रतिशत कर्मचारीको सेवा सुविधामा खर्च भएको देखिएको छ । हानले अर्बौ रूपँैयाको लगानी मार्फत होटल उद्योगले लाखौंको संख्यामा रोजगारी सिर्जना गरेको तथ्यलाई केन्द्रमा राखी यसले नेपाली अर्थतन्त्र तथा वहुआयामिक क्षेत्रमा निम्त्याउन सक्ने प्रभावको विश्लेषण गर्न विलम्ब नगर्न सरकारसँग आग्रह गरेको छ ।
हानले अहिले आफ्ना श्रमिकहरुलाई न्यूनतम पारिश्रमिकको पनि आधा रकम दिने प्रस्ताव ट्रेड युनियनहरुसँग गरेको छ । ‘यो बेला होटलका सबै श्रमिकलाई तलब नदिदा आश्रीत परिवार समस्यामा पर्ने भएकोले बेसिक तलबको आधा दिने प्रस्ताव अघि सारेका छौं,’ हानका एक पदाधिकारीले भने ‘ट्रेड युनियन यो विषयमा सकरात्मक छ,अव सरकारले यसलाई कसरी सम्बोधन गर्छ भन्ने हो ।’
चैतको तलव श्रमिकहरुलाई दिएपनि बैशाख देखीको तलव दिन समस्या भएको व्यवसायीहरुको भनाई छ । ‘होटलको आम्दानीनै बन्द भएको बेला श्रमिकलाई तलव कसरी दिने हो,’ एक व्यवसायीले भने ‘घाटामा चलाउनु भन्दा बन्द गर्नुनै अहिलेको विकल्प हुन्छ । ती व्यवसायीले अहिलेकै अवस्था सिर्जना हुने र सरकारले विषेश कदम नचाल्ने हो भने धेरै होटलहरु बन्द हुने अवस्था आउछ ।’ यसबाट सरकारले राजश्वसँगै श्रमिकहरुले रोजगारी समेत गुमाउने छन् ।
सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक नेपाल ल्याउने घोषणा गरेपछि पछिल्लो समय नयाँ नयाँ चेन होटलहरु, नयाँ होटलहरु खुलेका थिए भने नयाँ रिसोर्ट र रेष्टुरेन्टहरु पनि त्यतिनै मात्रामा खुलेका थिए ।