पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले रेष्टुरेण्टहरुमा काम गर्ने ६४ जनालाई राहत वितरण गरेको छ । लकडाउनका कारण घर नगई पोखरामा नै बसेकाहरुलाई सोमबार रेवानले सहयोग प्रदान गरेको हो ।
उनीहरुलाई चामल १२ केजी, दाल २ केजी, तेल १ लिटर, १ किलो नुन, भटमासको तेल लगाएतका खाद्य सामग्री वितरण गरेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) का अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए ।
‘रेष्टुरेण्टमा काम गर्नेहरुलाई खाने कुराको अभाव भयो भन्ने थाहा पाउने बित्तिकै सहयोग गरेका हौ,’ अध्यक्ष भुजेलले भने ‘रेवानको बैठक बसेर आवश्कय रकम छुट्टाएका छौ ।’
उनले एउटा परिवारलाई १ हजार ५०० रुपैयाँ बराबरको सामग्री दिएको बताए । वितरण कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजीब पहारी, पोखरा महानगर पालिका वडा नम्बर वडा सदस्य हरि पहारी लगाएतले सहयोग प्रदान गरेका थिए ।
त्यसै गरी रेवान पोखराले कोरोना भाइरसको संक्रमण फैलान नदिन लेकसाइडमा किटनासक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । सोमबार पोखरा महानगरका सगँको सहकार्यमा किटनासक औषधि लेकसाइडका सबै क्षेत्रमा छर्केको हो ।
राहत वितरण र औषधि छर्कनका लागि करिब १ लाख ५० हजार खर्च भएको अध्यक्ष भुजेलले जानकारी दिए ।