कोरोना भाइरसका कारण पर्यटन तथा उद्योग क्षेत्र तहसनहस भए पछि सरकारले राहतको प्याकेज ल्याउने भएको छ । तारे होटलदेखि रेष्टुरेन्ट व्यवसायमा ठूलो असर परेपछि सरकारले पर्यटन तथा उद्योग क्षेत्रलाई राहतस्वरुप सहुलियतपूर्ण र पुनर्कर्जाको सुविधा ल्याउन लागेको सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
‘कोरोना भाइरसका कारण यो क्षेत्र नराम्ररी प्रभावित भएको छ । यसले अर्थतन्त्रमा ३ प्रतिशत भन्दा बढी असर पर्ने देखिएको छ,’ अर्थमन्त्री समेत रहेका खतिवडाले भने, ‘त्यही भएर सरकारले राहतको प्याकेज ल्याउन लागेको हो ।’
सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै होटल व्यवसायीले पनि धमाधम होटल बन्द गर्न थालेका छन् । पर्यटक ठप्प भएको सम्पूर्ण रुम खालि भएपछि उनीहरुले बन्दको बाटो रोजेका हुन् ।
होटल एसोसिएसन अफ नेपाल (हान)ले केही दिन अघि ब्याज अनुदान, ब्याज तिर्ने समय लम्ब्याउनुपर्नेलगायतका माग गरेका थिए । सोही अनुसार सरकारले राहत प्याकेज ल्याएको छ । यद्यपि, हानले भनेअनुसार राहत प्याकेज भने घोषणा गरिएको छैन् ।
पर्यटन क्षेत्रमा भएको क्षतिलाई मध्य नजर गरेर सरकारले अन्य प्याकेज पनि ल्याउने मन्त्री खतिवडाले जानकारी दिए । तर, कुन कुन सुविधा दिने भन्नेमा मन्त्री खतिवडाले केही खुलाएका छैनन् ।
यो बिषय अाकस्मिक परिस्थितिमा हामी सचेत हुनुपर्छ । छिट्टै सन्त्रासबाट छिट्टै मुक्त पाउने अपेक्षा गरिएको र पर्यटन क्षेत्रमा भएका क्षतिका लागि प्याकेज र राहत कार्यक्रम ल्याइने बताए । होटल र उद्योग क्षेत्रलाइ वित्तीय रुपमा सहुलियतमूलक र पुनर्कजाकोे व्यवस्था गर्न छलफल गरिएको बताए ।
वैदेशिक रोजगारीले विप्रेषणमा हुने क्षति त्यति ठूलो नहुने र बैकिंङ प्रणाली सहज गरिने बताए । पर्यटन क्षेत्रमा परेको क्षतिले समग्र अर्थतन्त्रमा ३ प्रतिशत मात्रै केही प्रभाव परेपनि सम्पूर्ण अर्थतन्त्र सिथिल हुने भनेर शंका नगर्न अाग्रह गरे । विदेशी ठेकेदार, प्राविधिक र कामदार संलग्न ठूला निर्माण अायोजना केही प्रभावित भएपनि केही समय पछि पुनः अघि बढ्ने बताए ।