काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विश्वव्यापी महामारी कोरोनाभाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण काम थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री भट्टराईले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले गरेका निर्णयहरु तत्काल कार्यान्वयन निर्देशन दिएका हुन् ।
विहिबार मन्त्रालयमा मातहत निकायका विभागीय प्रमुखहरुलाई बोलाएर मन्त्री भट्टराईले उच्चस्तरीय समन्वय समितिको बैठकका निर्णयहरु कार्यान्वयन थाल्न निर्देशन दिए ।
बुधबार उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समितिको बैठकले बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने लगायतका निर्णय गरेको थियो ।
पर्यटन मन्त्रालयको जिम्मेवारीमा परेका कामहरुलाई तत्काल कार्यान्वयन गराउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।
बैठकले पर्यटन मन्त्रालय अन्तर्गतका सबै साँस्कृतिक केन्द्रहरु, संग्रहालय तथा अभिलेखालय २०७६ साल चैत्र मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ ।
यसैगरी साँस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानहरुका सभाहल, प्रेक्षालयहरुमा २०७६ साल चैत्र मसान्त सम्म कुनै कार्यक्रम आयोजना नगर्ने र पूर्व निर्धारित कार्यक्रमहरु समेत स्थगन गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालुरदर्शनार्थी भेला नहुने व्यवस्था मिलाउन र त्यस्ता स्थलहरुमा लामबद्ध हुने दर्शनार्थीरतीर्थालुहरुबीचको दूरी कम्तीमा १ मीटर कायम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
बैठकले पर्यटकस्तरका होटल, मोटल, रिसोर्ट, लज, रेष्टुरेण्ट एवं बारहरुले ज्वरो मापन गर्ने उपकरण तथा सामाग्रीहरुको व्यवस्था गरी उक्त स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
यसैगरी मन्त्रालय र अन्तर्गत निकायले आफ्नो कार्यालय भवन र परिसरमा नियमित रुपमा सरसफाई गर्ने, कार्यालय प्रवेशद्वारमा अनिवार्यमा ज्वरो मापन गर्ने उपकरण एवं स्यानिटाइजरको व्यवस्था गरी प्रवेश गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।