काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै पर्यटक आगमन शुन्य भएपछि पाँचतारे होटल ह्यात बन्द भएको छ । कोरोनाको त्रासले पर्यटक गतिबिधि नै नगन्य भएपछि ह्यात होटलले ६ हप्ता बन्द गर्ने निर्णय गरेको सञ्चालक सुरेशलाल श्रेष्ठले जानकारी दिए ।
‘आइतबारबाट होटल ह्यातको ढोका बन्द हुन्छ,’ श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘अहिलेलाई ६ हप्तालाई बन्द गर्ने निर्णय भएको छ । त्यो बेलासम्म कोरोना भाइरस नियन्त्रणमा आएन भने अझै बढ्न सक्छ ।’
ह्यात होटलले बन्द अवधिभर आफ्ना कर्मचारीलाई १२ दशमलव ५ प्रतिशत तलब सुविधा दिने निर्णय गरेको छ । अहिले यस विषयमा कर्मचारीसँग छलफल भइरहेको उनले जानकाी दिए ।
त्यसैगरी, काठमाडौं म्यारियटलाई पनि म्यारियटले बन्द गर्न भनिसकेको छ । तर, लगानीकर्ताले बन्द गर्ने वा नगर्ने भन्नेमा निर्णय गरिसकेका छैनन् । होटलहरु सुनसान भएपछि लगानीकर्ताले बाध्य भएर होटल बन्द गर्ने निर्णयमा पुगेका हुन् ।
होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष तथा होटल अन्नपूर्णका सञ्चालक सिर्जना राणाले आफूहरु पनि होटल बन्द गर्ने मनस्थितिमा पुगेको बताइन् । ‘केही सञ्चालकले एक दुई दिन चलाउन सक्छन्,’ उनले भनिन्, ‘धेरैजसो सञ्चालकहरु होटल बन्द गर्ने तरखरमा रहेका छन् ।’
यसैगरी पाँच तारे होटल सोल्टी, भिभान्ता र समिट पनि बन्द गर्ने प्रकृया अघि बढेको लगानीकर्ता रवीभक्त श्रेष्ठले जानकारी दिए ।
मनकामना केवलकार पनि बन्द
कोरना भाइरसको प्रभावका कारण चर्चित धार्मिक तथा पर्यटकिय मनकामना केबलकार पनि चैतसम्म बन्द भएको छ । सरकारले २५ जना भन्दा बढी भेला हुने धार्मिक कार्यक्रम पनि नगर्न निर्देशन दिएको छ । सोहि कारण मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डीएन कायस्र्थले शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको बताए ।
उच्चस्तरीय समितिले भिडभाड नगर्न, भिडभाडयुक्त कार्यक्रम र जमघट बन्द गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले केबलकार पनि बन्द गर्न निर्देशन दिएको थियो ।