काठमाडौं । विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको नेपालकै प्रमुख पर्यटकीय स्थल ठमेलका रेष्टुरेन्टहरु बन्द हुन थालेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण पर्यटक आगमन ठप्प भएपछि त्यस क्षेत्रका रेष्टुरेन्ट बन्द गरिएको हो ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान)का महासचिव एकराज अधिकारीले ठमेलमा सञ्चालित द सीप रेष्टुरेन्ट मंगलबारबाट अनिश्चितकालका लागि बन्द भएको जानकारी दिए । त्यो बाहेक अन्य रेष्टुरेन्टहरु पनि बन्द हुने अवस्थामा पुगेको उनले बताए ।
‘स्टक सामाग्री बेच्न २÷४ जना कर्मचारी राखेर रेष्टुरेन्टको ढोका खोलि राखेका छौं, महासचिव अधिकारीले क्यापिटल नेपालसंग भने, यहि अवस्था रहेमा अवको एक साताभित्र सबै रेष्टुरेन्ट बन्द हुन्छ’।
पर्यटकीय सिजन सुरु भएकै बेला कोरोनाले थला पारेको उनको भनाइ छ । यो ३ महिनामा विदेशी पर्यटकहरुको चहलपहलले सडकमा खुट्टा हाल्ने ठाउँ समेत नहुने अवस्थामा अहिले सडक खाली रहेको उनले बताए ।
ठमेल सहित दरबार मार्ग, लाजिम्पाट लगाएतका क्षेत्रमा सञ्चालित रेष्टुरेन्टहरुको व्यापार ९० प्रतिशतले खस्किएको छ । ग्राहक नै आउन छोडेपछि रेवानले आफ्ना कर्मचारीहरुलाई घर विदामा पठाउन थालेका छन् ।
वार्षिक विदाको १५ दिनको ठाउँमा थप १५ दिन गरेर एक महिनाका लागि घर पठाउन लागिएको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । घरमा बस्दा समेत उनिहरुले बेसिक तलब भने पाउने छन् ।
रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा कर्मचारीहरुलाई आलोपालो गरेर विदा गर्न थालिएको जानकारी दिए । त्यहाँ सञ्चालित रेष्टुरेन्टहरु बन्द गरिहाल्ने अवस्था नआए पनि कर्मचारी कटौती गर्दै आएको उनले बताए ।
विदेशी पर्यटकहरु घटे पनि आन्तरिक पर्यटकहरु आइरहेको कारण केही मात्रामा व्यवसायीहरुले राहत महसुस गरिरहेको उनको भनाइ छ ।
रेवान पोखराको अध्यक्षमा भीमसेन भुजेलले ९० प्रतिशत व्यापार घटेको जानकारी दिए ।
विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालनमा आएका रेष्टुरेन्टहरुमा अहिले फाट्टफुट्ट मात्र ग्राहक आउने गरेको उनले बताए । ग्राहकको संख्या घटेपछि कर्मचारीहरुलाई भने कटौती गरिरहेका छन् । ‘दुई /चार जना स्टाफहरु राखेर रेष्टुरेन्ट खोलिरहेका छौं, अध्यक्ष भुजेलले भने,बन्द गरिसकेको छैन,तर बन्द भन्दा फरक पनि छैन ’ ।
रेवानमा आबद्ध भएका रेष्टुरेन्टहरुमा मात्र करिब २० अर्ब रुपैयाँभन्दा बढि लगानी छ । यस्तै ६० हजार भन्दा बढि कर्मचारीहरु आश्रित छन् । रेवानले सरकारसँग राहत स्वरुप घरभाडा बापत लिदै आएको १० प्रतिशत घरबाहल कर र १३ प्रतिशत भ्याट छुट गर्न माग गरेका छन ।